फागुन २४, पोखरा ।
पोखरा न्यूरोड, दरबारमार्गमा रहेको उपहार फर्निचरमा आगालागि भएको छ ।
आज विहान करिब ४ः३० बजे एक्कासी आगोको मुस्लो बाहिर देखेपछि स्थानीयहरुले गुहार मागेका थिए ।
दिपक मानन्धरको घरमा रहेको उक्त फर्निचरमा लागेको आगो करिब २ घण्टामा नियन्त्रणमा आएको छ ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलका अनुसार, विहानको समय, बरिपरी टिनका टहरा, साघुँरो गल्लीका कारण दमकल छिर्न गाह्रो हुँदा आगो नियन्त्रणमा केही समय असहज भएको थियो । सबै निकायबाट भएको सहयोगले गर्दा अन्य धेरै क्षति हुन पाएन, उनले भने।
आगो नियन्त्रणमा सशस्त्र प्रहरी वल नंं. २४ गण कालिका गण सप्रनानि सुनत घर्ति मगरको कमाण्डमा विपत व्यवस्थापन तालिम प्राप्त टोली, जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका नायव उपरीक्षक सन्तोष निरौलाको कमाण्डमा ५० जनाको टोली, पोखरा महानगरपालिकाको दमकल, खानेपानी बोरिङलगायत स्थानीयहरुले सहयोग गरेका थिए ।
उपहार फर्निचर उद्योगको कारखानामा काठका मुढाहरु, फर्निचरमा प्रयोगका लागि राखिएका काठ तथा प्लाइउडहरुमा एक्कासी विहानको समयमा आगो लाग्नुको कारण भने यो समाचार तयार पार्दा सम्म जानकारीमा आइसकेको छैन ।
आगालागीबाट कुनै मानवीय क्षति नभएपनि करिब १ करोड रकम बराबरको क्षति भएको बुझिएको छ ।
पछिल्लो समय पोखरामा आगाजनीका घटनाहरु बढ्दै गएको र गर्मी मौसम समेत सुरु हुन लागेको हुँदा अब आगालागी व्यवस्थापन र रोकथामको लागि सम्बन्धित निकायले विशेष चासो दिनुपर्ने देखिएको छ ।