फागुन ०४, पोखरा ।
कार्कीनेटा सम्पर्क समाज पोखराले पोखरा–२६, लेखनाथ भ्यू पार्क, अर्चलेमा शनिबार बनभोज कार्यक्रम गरेको छ ।
सम्पर्क समाजले हरेक वर्ष गर्दै आएको बनभोज कार्यक्रमलाई यसपाली पनि निरन्तरता दिँदै कार्यक्रम गरिएको समाजका अध्यक्ष केशव घिमिरेले बताए।
अध्यक्ष घिमिरेले जन्मघर कार्कीनेटा छोडी कर्मथलो पोखरा बनाइ बसेका सम्पूर्णलाई एकजुट बनाउन समाजले सहयोग गरेको बताए। उनले “मर्दा र पर्दा भनेजस्तै जब समस्या पर्छ अनि आफन्त इष्टमित्र, छरछिमेकको आवश्यक पर्छ, तिनै समस्यासँग जुध्नको लागि समाज चाहिन्छ। अप्ठेरो समयमा एकजुट भई एकको बोझलाई सबैले हातेमालो गर्दै अगाडि बढ्न समाजले प्रेरणा दिएको छ।” भने।
त्यसैगरी समाजका संस्थापक अध्यक्ष तथा सल्लाहकार प्रेम प्रसाद शर्माले कार्कीनेटा सम्पर्क समाज स्थापनाको मूल उद्देश्य अनुरुप काम गर्दै आइरहेको जानकारी पाउँदा आफू अत्यन्तै खुसी भएको बताउँदै अहिलेको समयसम्म आइपुग्दा समाजले धेरै राम्रो काम गरेको उल्लेख गरे।
त्यसैगरी समाजका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद शर्माले बनभोजमा सहभागीहरुप्रति स्वागत गर्दै आगामी दिनमा पनि मन, बचन र कर्मले समाजलाई सहयोग गर्न आफू प्रतिवद्ध रहेको व्यक्त गरेका थिए।
कार्यक्रम संयोजक शेषकान्त शर्मा (दिपु) ले कार्यक्रममा बोल्दै बनभोजलाई सम्पन्न गर्नको लागि सहयोग गर्नुहुने सम्पूर्णमा कृतज्ञता ज्ञापन गरेका थिए । “कार्यक्रमले कार्कीनेटाबाट पोखराआई स्थायी तथा अस्थायीरुपमा बसोवास गर्नुहुने पोखरावासीहरुलाई एकैठाउँमा उभ्याई माया साटासाट गरि आत्मीयता बढाएको छ।” उनले भने।
स्पेन नागरिक भियोलताले बनभोज कार्यक्रममा सहभागी हुन पाउँदा आफू अत्यन्तै खुसी व्यक्त गरेको व्यक्त गरेकी थिइन् । उनि स्पेनबाट पोखरा आई आयु अर्गानिक कृषि फार्म प्रा.लि.मा काम गर्दै आएकी छिन् । संस्थाको तर्फबाट उनलाई लाई मायाको चिनोले सम्मान गरिएको थियो ।
रमाइलो बनभोज कार्यक्रमलाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नको लागि सांस्कृतिक कार्यक्रमका साथै नृत्य प्रतियोगिता, घैटो फुटाइ समेत भएको थियो।
नृत्य प्रतियोगितामा सपना शर्मा र अनिशा पराजुली उत्कृष्ट भएका थिए । उनिहरुलाई मायाको चिनो र बन्दिरपुर केवलकारको निःशुल्क ३ वटा टिकटले सम्मान गरिएको थियो। बन्दिपुर केवलकारले उक्त पुरस्कार निःशुल्क उपलब्ध गराएको थियो ।
त्यसैगरी घैटो फुटाल्ने प्रतियोगितामा लक्ष्मी पौडेल र तुलसी शर्मा विजेयी भएका थिए । उनिहरुलाई मायाको चिनो र १ लाख बराबरको निःशुल्क म्यादी इन्स्योरेन्स गरिएको छ । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्सले उक्त पुरस्कार निःशुल्क उपलब्ध गराएको थियो ।
सम्पर्क समाजका धनप्रसाद पाध्याले सञ्चालन गरेको बनभोज कार्यक्रम अध्यक्ष केशव घिमिरेको अध्यक्षतामा सम्पन्न भएको थियो।