पत्रकार महासंघ गण्डकीको पदस्थापन

पुष १४, पोखरा ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम आज सम्पन्न भएको छ ।
निर्वाचनबाट महासंघ गण्डकीका रमेश पौडेलको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्य समिति निर्वाचित भएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको प्रमुख आतिथ्यमा भएको पदस्थापनमा निर्वाचन समिति संयोजक प्रेस स्वतन्त्रता सेनानी कोमलनाथ बरालले शपथ ग्रहण गराएका थिए ।
आगामी ३ वर्षका लागि नवनिर्वाचित उपाध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्ष (महिला) मायाकुमारी अधिकारी, महासचिव जमुना वर्षा शर्मा, सचिव भविश्वर पाण्डे, सचिव (समावेशी) रोशनी गुरुङ र कोषाध्यक्ष रमेश बस्ताकोटी छन् ।
खुला सदस्यमा विजय नेपाल, गणेश पहारी, जनक श्रेष्ठ, छविलाल पाण्डे, श्रीकृष्ण सिग्देल, ध्रुवराज सुवेदी र रोशन लामिछाने निर्वाचित भएका थिए । सदस्य (महिला) मा ज्योति हमाल, सपना अधिकारी र रञ्जिता शर्मा, सदस्य दलितमा विजय नेपाली, सदस्य (आदिवासी जनजाति) मा पदम श्रेष्ठ र मञ्जुल शाक्य छन् । अल्पसंख्यक सदस्यमा सुन्दरकुमार थकाली निर्विरोध भएका हुन् ।
पदस्थापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केन्द्रबाट संघीयताको कार्यविधि प्रदेशमा लागू नगरेको गुनासो राखे । उनले भने, “प्रदेशका बारेमा यो अधिकार दिनुपर्छ, काम गर्न कठिनाइ यी छन्, भन्ने कुरा हिजो जसले प्रदेश मातहतमा रहेर काम गर्नुभयो उहाँहरु संघमा पुगेर दिने ठाउँमा हुँदा चुइक्क नबोल्नु नै अहिलेको मूल समस्या बन्न पुगेको छ । हामीले प्रदेशका नाममा धेरै गाली खानु परेको छ ।”
उनले प्रदेशमा पहिले अनुभव हासिल गरेकाहरू अहिले केन्द्रमा हुँदा पनि संघीयताको पक्षमा नबोल्दा आफू आश्चर्यमा परेको प्रकट गरे ।
प्रदेशमा नीतिगत र कानुनत निर्णय गर्ने अधिकार कम रहेको भन्दै अपेक्षित रुपमा काम गर्न नसक्दा प्रदेशप्रति नकारात्मक भाष्य सिर्जना भएको मुख्यमन्त्री पाण्डेको भनाइ रहेको थियो ।
मुख्यमन्त्री पाण्डेले प्रदेश सरकार बनाउने क्रममा संघको हुबहु संरचना निर्माण गरिएको बताउँदै प्रदेशमा संरचना कै कारण अहिले मूल्याङ्कन गर्दा प्रशासनिक खर्चबाहेकको उपलब्धि खासै नभएको उल्लेख गरे ।
उनले आमसञ्चार विधेयक पारित भई प्रेस रजिस्ट्रार कार्यालय स्थापित भएको र पत्रकारको हकहितका लागि यो कार्यालय लागिपर्ने बताए । पत्रकारको बिमाको रकम बढाउँदै जाने उनले प्रतिबद्धता जनाए । पत्रकार महासंघमा संघीयता लागु नभएकोमा उनको थप चिन्ता थियो । ‘गण्डकीको समाचार अलि कम आएको छ । मैले राम्रो गरेको भए राम्रो लेख्नुस् । नराम्रो भए नराम्रो लेख्नोस् तर केही त केही लेख्नोस्,’ उनले पत्रकारलाई सुझाव दिए । सञ्चार माध्यमले सरकारलाई खबरदारी गर्ने मात्र नभई सूचना प्रवाह गर्ने दायित्वबाट पछि हट्न नहुने भनाइ रहेको थियो ।
उनले विद्यमान अवस्थामा सामाजिक सञ्जालका कारण मूलधारका मिडियाको आर्कषण घट्दै गएको वर्तमान अवस्थामा सत्यतथ्य र वस्तुनिष्ठ समाचार तथा सूचना नागरिकमा प्रवाह गर्नुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष पौडेलले गण्डकी प्रदेश मातहतका ११ वटै जिल्लामा पुगेर सुझाव संकलन गर्ने र त्यसैअनुसार कार्ययोजना तयार गरेर पत्रकारका सझा मुद्धालाई एकसाथ लिएर अगाडी बढ्ने योजनामा रहेको जानकारी गराएका थिए । साथै, उनले मूलधारका मिडिया बचाएर राख्नुपर्नेमा जोड दिँदै पत्रकारितालाई दिगो रूपमा बचाउन नयाँ पुस्तालाई आकर्षित गर्नुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष एवम् गण्डकी प्रदेश प्रेस रजिस्ट्रार बिमला भण्डारीले रजिस्ट्रार कार्यालयले आफ्नो कार्यविधि निर्माण अन्तिम चरणमा पुगेको जानकारी गराइन् । उनले भनिन्, ‘पत्रकार महासंघ परिवार हो, यहाँ कोहीसँग प्रतिस्पर्धा छैन । सबैसँग मिलेर अघि बढ्नुपर्छ ।’
पत्रकार महासंघ केन्द्रीय सचिव सोनी शर्माले सबैले संघीयताको मर्म अनुसार काम गर्नुपर्ने बताइन् । उनले विरोधका लागि मात्र विरोध नगरौं, सकारात्मक ढंगले कलम चलाउनुपर्छ भनिन् ।
महासंघ गण्डकी प्रदेश अध्यक्ष नारायण शर्माले पत्रकार महासंघको विधान अनुसार काम गर्नुपर्ने सुझाव दिए । उनले हरेक पत्रकारको १५ लाखको स्वास्थ्य बिमा व्यवस्था हुनुपर्नेमा जोड दिँदै संस्थागत र पत्रकारको क्षमता वृद्धिमा काम गर्नुपर्ने बताए । उनले पत्रकार शुद्धीकरणलाई निचोडमा लैजाने काम गरोस् भनी नयाँ समितिलाई शुभकामना दिए ।
महासंघ गण्डकीका निवर्तमान महासचिवसमेत रहेका अध्यक्षका प्रत्यासी गोविन्द सुवेदीले नवनिर्वाचित समितिलाई सफलताको शुभकामना दिँदै श्रमजीवी पत्रकारको हकहितमा सधैं लागिपर्ने बताए ।
सो अवसरमा प्रेस रजिष्ट्रार नियुक्त बिमला भण्डारी, महासंघ सचिवमा निर्वाचित सोनी शर्मासमेतलाई सम्मान गरिएको थियो ।
महासंघका निवर्तमान उपाध्यक्ष दीपक भट्टराईले स्वागत गरेको कार्यक्रमको संचालन सचिव सुशीलबाबु श्रेष्ठ (कैलास) ले गरेका थिए । निर्वाचन समिति सदस्यमा अधिवक्ता बिबि विष्ट र मनोज घर्तीमगर थिए ।
यसैबीच, नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक पनि बसेको छ । अध्यक्ष रमेश पौडेलको अध्यक्षतामा बसेको बैठकले अघिल्लो कार्यसमिति, निर्वाचन समितिसहित सम्पूर्णमा धन्यवादसहित आभार व्यक्त गरेको महासचिव जमुना वर्षा शर्माले बताइन् ।