असोज १५, पोखरा ।
पोखरा नदिपुरको छन्त्याल समाजघरमा आठौं क्लब स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको फाइनल खेल आज हुने भएको छ ।
प्रतियोगितामा एपिएफ मालेपाटन पोखरा र गल्कोट स्पोर्टस् क्लब, वागलुङ विच प्रतिस्पर्धा हुने भएको छ भने महिला तर्फ धादिङ स्पोर्टस् क्लब र नदीपुर एफसी, पोखरा विच छन्त्याल समाजको खेल मैदानमा प्रतिस्पर्धा हुने कार्यक्रम संयोजक मनोज खड्काले जानकारी गराए ।
सोमबार भएको सेमिफाइनलको पुरुष तर्फ पहिलो सेट १८–२५ ले गुमाएको गलकोटले दोस्रो सेट २५–२२ ले जितेको थियो । तेस्रो १९–२५ ले गुमाएपछि पुन चौथो २७–२५ र पाँचौ सेट १५–११ जित्दै फाइनलको लागि आफ्नो नाम दर्ता गर्न पुगेको थियो ।
त्यसैगरी सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपिएफ मालेमाटनले नेपाल युथ स्पोर्टस क्लब जापानलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो ।
एपिएफले नेपाल युथ स्पोर्टस क्लबलाई २५–२२, २५–२३ र २७–२५ ले पराजित गर्दै फाइनलको लागि आफ्नो नाम पक्का गरेको हो । उपाधिका लागि एपिएफले गलकोटसँग आज दिउसो १ बजे प्रतिस्पर्धा गर्नेछ ।
त्यसैगरी महिलातर्फको पहिलो सेमिफाइनलमा नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल प्रवेश ग¥यो ।
नदीपुर एफसीले शान्ता भलिबल पोखरालाई २६–०७, २५–१६ र २५–१७ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
यस्तै दोस्रो सेमिफाइनल खेलमा धादिङ स्पोर्टस क्लब धादिङले बागलुङ टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा नदीपुर एफसी पुगेको छ ।
धादिङ स्पोर्टस क्लबले टिम बागलुङलाई २५–२३, २५–११ र २५–१७ ले पराजित गरेको हो । उपाधिका लागि धादिङ स्पोर्टस र नदीपुर एफसी आज विहान १० बजे प्रतिस्पर्धा गर्ने पोखरा भलिबल प्रशिक्षण केन्द्रका संरक्षक पदम श्रेष्ठले जानकारी गराए ।
पोखरा भलिबल प्रशिक्षण केन्द्र र ए फोर ग्राफिक डिजाइन एण्ड प्रिन्टिङ प्रेसद्वारा संयुक्त आयोजित प्रतियोगिता नेपाल भलिबल सल्लाहकार, टाइगर गु्रप अप पोखराका अध्यक्ष एवम् पोखरा महानगरपालिकाका बरिष्ठ कानुन अधिकृत नारायण प्रसाद शर्माले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले नेपालको राष्ट्रिय खेल भलिबल नेपालीहरुले अत्याधिक मन पराउने खेल भएको र यसको विकासको गाउँ गाउँमा भलिबल प्रशिक्षण केन्द्रको आवश्यकता रहेको बताएका थिए । उनले विभिन्न कार्यक्रम र प्रतियोगिताले खेलाडीहरुको मनोभावनालाई उच्च राख्ने भएपनि उचित प्रशिक्षक विना उत्कृष्ट खेलाडीको उत्पादनमा ठूलो समस्या र चुनौति देखिएको उनले उल्लेख गरे । साथै, उनले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुने देशकै सबैभन्दा ठूलो पुरस्कार राशी भएको टाइगर कप खेल हेर्न सम्पूर्ण दर्शकलाई निमन्त्रणा गरेका थिए ।
कार्यक्रममा पत्रकार शिरोमणी बराल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, गोरखा समाज हङकङ सांस्कृतिक विभागका प्रमुख गम्भीरराज गुरुङ, गण्डकी प्रदेश भलिबल संघका सदस्य जापान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
अशोक थापाले सञ्चालन गरेको चांैथो चरणको उद्घाटन कार्यक्रम अध्यक्ष कुलप्रसाद छन्त्याल (कुशल)को अध्यक्षतामा भएको थियो ।
आठौं संस्करणको क्लबस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फका विजेताले नगद १ लाख ३० हजार, उपविजेताले ८० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै महिलातर्फको विजेताले नगद ५० हजार र उपविजेताले ३५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा महिला तथा पुरुषतर्फ विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, ब्लकर, डिफेण्डर, सेटर, सर्भर र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् ।