पोखरा ।
नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा स्पोर्ट्स अवार्ड २०८० बाट करिब दुई लाख रुपैयाँ बचत गरेको छ ।
मञ्चले बुधबार पोखरा २५, हेमजा स्थित सुइखेत रिभर भ्याली रिसोर्टमा सातौँ स्थापना दिवसको अवसरमा आठौँ पोखरा स्पोर्ट्स अवार्ड २०८० को आयव्यय तथा समीक्षा कार्यक्रम मार्फत स्पोर्ट्स अवार्डको आयव्यय सार्वजनिक गरेको हो ।उक्त अवार्ड कार्यक्रमका लागि सरकारी तथा विभिन्न निकायहरूबाट आम्दानीतर्फ १८ लाख ५० हजार ५ सय ३६ रुपैयाँ र खर्चतर्फ १६ लाख ६४ हजार २५९ रुपैयाँ गरि एक लाख ८६ हजार २७७ रुपैयाँ बचत गर्न सफल भएको मञ्चका कोषाध्यक्ष एवं आर्थिक व्यवस्थापन उपसमिति संयोजक कविता घर्तिमगरले जानकारी दिइन् । यसका अलावा मञ्चलाई विभिन्न व्यक्ति तथा व्यापारिक प्रतिष्ठानहरूबाट तीन लाख ६२ हजार रुपैयाँ बराबरको सहयोग प्राप्त भएको थियो ।
पोखराको ब्रान्ड बनिसकेको अवार्ड भव्य बनाउन कुनै कसर बाँकी नराखेको मञ्चका अध्यक्ष एव स्पोर्ट्स अवार्ड आयोजक मूल समिति संयोजक दीननाथ बरालले दाबी गरे । उनले भने, ‘पोखराको ब्रान्डको रुपमा स्थापित भइसकेको अवार्ड कार्यक्रमलाई सरकारी तथा विभिन्न सङ्घसंस्था र शुभेच्छुकहरूलाई जुन किसिमको साथ पायौँ, यो हाम्रो लागि गौरवको कुरा हो । उहाँहरूसँग आगामी दिनपनि हातेमालो गर्दै अगाडि बढ्ने छौँ ।’अवार्ड कार्यक्रमको गरिमालाई हेरेर अझैपनि सहयोगीहरूले सघाउने प्रतिवद्धता जनाइरहेको बरालको भनाई थियो । उनका अनुसार अझै दुई लाख बढी रकम मञ्चलाई छिट्टै प्राप्त हुने क्रममा रहेको छ ।
मञ्चलाई गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, प्रदेश खेलकुद परिषद् गण्डकी , योमा माई मोटर्सको टेल्जी स्कुटर, सहास स्पोर्ट्स, राखेप, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, टाइगर ग्रुप अफ पोखरा, केसी ग्रुप प्रा.लि. स्व. सेनानी हेमबहादुर गुरुङको परिवार, सिटिजन फर्निचर न्युरोड, मादी गाउँपालिका, बुम¥याङ रेष्टुरेन्ट एण्ड बार, सहारा क्लब पोखरा, सहारा यूके, बगर भाइखलक यूके, तमुधिं यूके, परिचय एडभरटाइजिङ, सुपर मार्दी हाइड्रो पावर लगायतबाट मुख्य सहयोग रहेको अध्यक्ष बरालले बताए ।सो अवसरमा अवार्ड कार्यक्रमलाई आगामी दिनमा थप परिष्कृत र परिमार्जित गर्दै लैजानुपर्नेमा सहभागीले जोड दिए ।
निवर्तमान महासचिव विजय नेपाल, सदस्यहरू रोहितराज पराजुली, दीपक परियार, धनबहादुर गुरुङ, विजय नेपाली, रूपनारायण ढकाल, बालकुमारी पौडेल तारा लगायतले पोखरा स्पोर्ट्स अवार्डसँगै मञ्चले गर्ने विभिन्न गतिविधिका सम्बन्धमा महत्वपूर्ण सुझाव दिएका थिए ।
कार्यक्रममा मञ्चका संस्थापक अध्यक्ष रामकृष्ण ज्ञवालीले अक्षयकोषको छुट्टै बैंक खाता स्थापना गर्न सुझाव दिँदै उक्त अभियान सफल पार्न आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।