जेठ २८, पर्वत ।
सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयबाट गण्डकी प्रदेशको नव उद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रममा पर्वत जिल्लाका विरेन्द्र रिजाल प्रथम भएका छन् ।
उनि रिजाल सेनेटरी प्याड उद्योगका सञ्चालक रहेका छन् । उनको उद्योग गैडाकोट ५ नवलपुरमा रहेको छ । उनको स्थायी घर पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं. ३ शंकरपोखरी रहेपनि विगत ३ वर्षदेखि नवलपुरमा उद्योग सञ्चालन गर्दै आएका छन् ।
मन्त्रालयबाट २०८० चैत २५ गते प्रकाशित सुचना अनुसार नवउद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहनमा प्रस्ताव पेश गरेका नव उद्यमीहरूले गत जेठ २४ गते आफ्नो उद्यमको बारेमा प्रस्तुतीकरण समेत गरेपछि लिएको अन्तरवार्ताका आधारमा नतिजा प्रकाशन भएको हो । छनौटबाट रिजाल प्रथम भएको यही जेठ २७ गते सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले नतिजा प्रकाशनको सुचनामा उल्लेख गरिएको छ ।
युवा तथा खेलकुद महाशाखाका उपसचिव प्रकाश देवकोटाद्वारा हस्ताक्षरित सुचनामा प्रदेशमा सहभागीहरुबाट ३ जनालाई पुरस्कृत गर्ने निर्णय भएको जनाइएको छ । जसमा द्घितियमा कावासोती ७ नवलपुरका सुदिप दुवाडी (शिव शक्ति एग्रो फर्म) र तृतीयमा हरिनास २ स्याङ्गजाका आभास सिग्देल (मग्याम कृषि तथा पशु फर्म प्रा.लि.) रहेका छन् ।
उनिहरुलाई पुरस्कृत गर्ने र पुरस्कृत युवाहरुले राष्ट्यि युवा परिषदबाट आयोजना हुने संघीय स्तरको नवउद्यमी युवा प्रतिभा पहिचान तथा प्रोत्साहन कार्यक्रममा प्रतिस्पर्धीका रुपमा सहभागी जनाउनुपर्ने छ ।
गण्डकी प्रदेश सरकारले युवाहरूको क्षमता विकास तथा परिचालनबाट उनीहरूको व्यक्तिगत उद्यम विकासको साथसाथै प्रदेश र राष्ट्रकै समृद्धिमा मद्दत पुग्ने बताएको छ । गण्डकी प्रदेश सरकारको प्रथम पञ्चवर्षीय योजना र वार्षिक नीति तथा कार्यक्रमले तय गरेको युवा विकास तथा परिचालन सम्बन्धी उद्देश्य समेत हासिल गर्न युवा उद्यम तथा स्वरोजगार लगायतका कार्यक्रमहरु राखिएका छन् । स्वदेशमै स्वरोजगार मूलक गतिविधिमा संलग्न युवाहरूले उत्पादन तथा प्रशोधन जस्ता उद्यम सञ्चालन गरिरहेका वा गर्न चाहने व्यक्तिगत अथवा सामूहिक फर्म वा संस्थाहरूको उत्पादन तथा प्रशोधनमा आधुनिकीकरण गर्न सहयोग पु¥याउन आवश्यक रहेको सरकारका विभिन्न योजनाहरूमा उल्लेख छन् ।