पोखरा । लोकतन्त्र जमिन र जनतासँग नजोडिएसम्म यसले स्थायित्व पाउन सक्दैन । लोकतन्त्रको विकल्प निरंकुशता मान्नेहरूबाट लोकतन्त्र र समाजवादी विचारको मूलउच्छेदन हुनेतर्फ यसैकारण सबै सचेत हुनुपर्ने अनिवार्य अवस्था छ । सप्ताहव्यापी प्रशिक्षणक्रमका वक्ताले यिनै विचारका साथ लोकतन्त्रका पक्षमा सशक्त हुनुपर्ने आजको आवश्यकता रहेको बताए ।

नेपाली कांग्रेस कास्कीले आयोजना गरेको सप्ताहव्यापी प्रशिक्षणमा प्रमुख प्रशिक्षक हिमालय टाइम्सका सम्पादक तथा प्राध्यापक पुरुषोत्तम दाहालले लोकतन्त्रका लागि सक्रिय नागरिकले सुललित शब्दमा भन्दा सुरलित व्यवहारमा जोडिनुपर्ने बताउँदै लोकतन्त्रको चुनौती भनेको जनता र जमिनसँग जोडिन नसकेको कमजोर कांग्रेस र कमजोर लोकतन्त्रवादीहरू नै भएको जनाए ।

कास्की कांग्रेसले गत जेठ १७ देखि पार्टीका सदस्यलाई सप्ताहव्यापी प्रशिक्षण दिने क्रममा पहिलो दिन जिल्ला कार्यसमिति, क्षेत्रीय समिति र प्रदेश समितिका सदस्य, दोस्रो दिन कास्कीका सबै वडा समितिका पदाधिकारी र सदस्य, तेस्रो दिन पार्टीबाट निर्वाचित सदस्य, चौथो दिन दलित संघका पदाधिकारी र सदस्य, पाँचौं दिन तरुण दल र नेपाल विद्यार्थी संघका पदाधिकारी र सदस्य, छैटौं दिन महिला संघ सम्बद्ध पदाधिकारी र सदस्य, सातौं दिन लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका सदस्य र पदाधिकारीलाई राष्ट्रियता, लोकतन्त्र, समाजवाद, लोकतान्त्रिक आचरण, समाज रूपान्तरणको प्रश्नसहित वर्तमान अवस्थाबारे अन्तक्र्रियात्मक प्रशिक्षण दिइएको हो ।

अन्तक्र्रियात्मक प्रशिक्षणमा प्रा.दाहालका विचारमाः अनगिन्ती समस्याको चाङमा बसेका नागरिक र सत्ताको शिखरबाहेक केही नदेख्ने नेतृत्वका बीच स्थापित दूरी अन्त्य नभएसम्म संघीय लोकतान्त्रिक गणतन्त्र आफैंमा कट्मिरो फलमात्र सिद्ध हुनेछ । लोकतन्त्रको अर्थ, राष्ट्रियता र समाजवाद, साम्यवाद निरंकुशतावाद र लोकतन्त्रका बीच भिन्नता, नेपालमा विकासका आधारहरू र संभावना, सामाजिक रूपान्तरणको प्रश्नसहित राजनीतिमा निष्ठाको महत्व, बीपी शिक्षा, राजनीतिक साक्षरताको अर्थ र आफैंमाथिको लगानी जस्ता विषयमा पनि चर्चा भएको थियो । महिला, दलित, आदिवासी जनजातिको उत्थान, उद्यमशीलता, उत्पादनशील समाजको सिर्जना र व्यवस्थापन, तरुण र रोजगारी पनि विमर्शको विषय बने ।

कास्की कांग्रेस सभापति किशोरदत्त बराल, अधिवक्ता रामचन्द्र त्रिपाठी र युवा बुद्धिजीवी प्रताप पौडेलले समेत आफ्ना विचार प्रस्तुत गरे । पूर्वसभामुख तथा नेपाली कांग्रेस पूर्वमहामन्त्री तारानाथ रानाभाट, संविधानसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य शारदा पौडेल, संविधानसभा सदस्य कृष्णकुमारी परियार, महिलानेतृ शकुन्तला गुरुङ, पार्टीका पूर्वसचिव पोषनाथ शर्मा लगायत सहभागी थिए । प्रत्येक दिनका पृथक कार्यक्रमका लागि नवीन सिग्देल, भानुभक्त ढकाल, देवेन्द्र भाट, शंकर ढुंगाना, युवक लामिछाने, युवराज कुँवर र माइकल कर्माचार्य र सदस्यमा कपिलमणि दाहाल, तारादेवी गुरुङ, सुरेन्द्र अधिकारी, विकाश थापा, धनमाया गुरुङ, वेदहरि तिमल्सिना, वर्षाकेशव पराजुली, दीपक गुरुङ (माइला) मनबहादुर लाम्गादे, सरिता तिमिल्सिना, सीता गुरुङ, मीना पाण्डे, चौबहादुर गुरुङ र आसबहादुर गुरुङ सदस्य रहेका थिए ।
उपसभापति तथा प्रशिक्षण विभाग प्रमुख रामबाबु भण्डारीको सभापतित्वमा सञ्चालित प्रशिक्षणमा करिब ८ सय सदस्यले भाग लिएका थिए ।