पोखरा भलिबल प्रशिक्षण केन्द्रको सातौ वार्षिकोत्सवको अवसरमा भलिबल प्रतियोगिता गर्ने भएको छ ।
छन्याल समाजको खेल मैदान नदीपुर, पोखरामा सम्पन्न हुन गइरहेको प्रतियोगिता यही असोज ९ गतेबाट सुरु भई असोज १३ गते समापन हुनेछ ।
वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा पुरुष तर्फ करिब २० टिम र महिला तर्फ १२ टिम सहभागीहुने आयोजकको दावी रहेको छ ।
विगत ७ वर्षदेखि निरन्तर भलिबल खेलको प्रशिक्षण गराउँदै आएको केन्द्रले हाल सम्म सयौं खेलाडीहरु उत्पादन गरिसकेको छ । बढ्दो उमेरसँगै लागु औषध र कुलतमा फस्ने सम्भावना भएका युवाहरुलाई भलिवल प्रशिक्षणको माध्यमबाट उनिहरु भित्र लुकेर रहेको प्रतिभा लाई प्रष्फुटन गरी राष्ट्रिय तथ अन्तराष्ट्रिय खेलाडी उत्पादन गर्ने सोंच सहित स्थापना भएको सञ्चालक मनोज खड्का बताउछन् । उनका अनुसार पोखरा भलिबलमा प्रशिक्षण गरी खेलको माध्यमबाट स्वदेश तथा विदेशमा गई भलिबल खेलमा सहभागी भएको बताए । साथै भलिबल खेलकै माध्यमबाट केही युवाहरु भारतिय सेनामा समेत भर्ति भएको जानकारी गराए ।
त्यसैगरी केन्द्रका अध्यक्ष कुल प्रसाद छन्त्यालले भने, हामीले स्थापनादेखि निरन्तर वार्षिकोत्सवको अवसरमा भलिवल प्रतियोगिता राख्दै आएका छौं । यसबाट खेलाडी खेलाडीहरु विचको प्रतिस्पर्धाले थप ज्ञान मिल्ने र आत्मियता बढाउने पाइएको छ । त्यसै गरी अध्यक्ष छन्त्यालका अनुसार प्रतियोगितामा पुरुषतर्फको विजेताले नगद एक लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले नगद ७० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै महिलातर्फको विजेताले ४५ हजार रुपैयाँ तथा ३० हजार रुपैयाँ प्राप्त गर्ने बताए ।
उक्त भलिबल प्रतियोगितामा विविध सांस्कृतिक, हास्य तथा मनोरञ्जनात्मक कार्यक्रमहरु समावेश समेत गर्ने आयोजकले बताएको छ ।
पोखरा भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा हुन गइरहेको प्रतियोगितामा सहआयोजक छन्त्याल ब्रदर्र्श पोखरा रहेको छ ।