पोखरा, २८ भदौ । ज्युँदा सहीदका रुपमा परिचित स्याङ्जा जिल्लाका खगेन्द्र रेग्मीलाई विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले सम्मान गरेको छ ।
लामो समयदेखि विपी सिद्धान्तलाई आत्मसात गर्दै प्रजातन्त्रका पक्षमा काम गरेका रेग्मी स्वास्थ्य अवस्थाका कारण यही भदौ २४ गते विपी जयन्तीका अवसरमा गरिएको सम्मान कार्यक्रममा उपस्थित हुन नसकेपछि उनी हाल रहेकै स्थानमा पुगी सम्मान गरिएको हो । रेग्मी हाल स्वास्थ्यलाभका लागि भरतपुरस्थित पारसनगरमा आफन्त विश्वराज पौडेलको निवासमा आराम गरिरहेका छन् । उनलाई २५ हजार रुपैयाँ नगद, सम्मानपत्र, दोसल्ला, रुद्राक्षको माला एवम् शालिग्राम प्रदान गरी सम्मान गरिएको हो ।
सम्मान कार्यक्रममा गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले आफुले रेग्मीको हरेक सुखदुःखमा साथ दिएको र उनले पनि आफ्ना हरेक सुखदुःखमा साथ दिएको अनुभव व्यक्त गरे ।
टोल टोलमा पुगी जनताको जीवनमा परिवर्तन ल्याउन रेग्मीले महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनले प्रजातन्त्रको पक्षमा अहोरात्र खटेर काम गरेको र कहिल्यै विश्राम नलिनुुभएको जानकारी गराएका थिए ।
रेग्मीलाई जतिसुकै अप्ठेरो परिस्थितिमा श्रीमतीले साथ दिएको उनले स्मरण गरे । वर्तमान अवस्थामा नेपाली काँग्रेस र प्रजातन्त्र दुवै संकटमा पुगेको उल्लेख गर्दै उनले रेग्मीको पुनः एकपटक योगदान चाहिएको बताए ।
लामो समयदेखि पार्टीमा लागेका, प्रजातन्त्रका पक्षमा लडेका परिवारलाई नेतृत्वमा पु¥याउन सकेमा प्रजातन्त्रको भविष्य अझ सुन्दर बन्ने उनले आशा व्यक्त गरे ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णु लामिछानेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा रेग्मीले पुर्याएको योगदान भावी पुस्तका लागि प्रेरणादायी भएको बताए।
प्रतिनिधि सभा सदस्य राजु थापाले रेग्मीको जीवनी र व्यक्तित्व बारे प्रकाश पार्दै स्याङ्जाको इतिहासमा ज्यँुदा सहीद रेग्मीले जिल्लामा तीन कार्यकाल पार्टीको नेतृत्वमा रहेर काम गरेको स्मरण गरे ।
प्रतिवन्धित अवस्थामा पनि नेपाली काँग्रेसलाई क्रियाशील बनाउन निरन्तर लागेको बताउँदै उनले द्वन्द्वको समयमा सशस्त्र माओवादीबाट गोली चली घाइते भएका रेग्मी एउटा सानो प्रयासबाट हामी माझ रहेको उल्लेख गरेका थिए ।
विपीबाट प्रशिक्षित रेग्मीले प्रतिवन्धको कुनै वास्ता नगरी बनारस पुगेर विपीलाई भेटी पुन गाउँमा नै आई घरघर पुगी संगठनलाई मजबुद बनाउन दिनरात नभनी खटेको स्मरण गरे ।
विपी स्मृति पुस्तकालय गण्डकी प्रदेशका अध्यक्ष माधव प्रसाद बाँस्तोला (मधु)ले गण्डकी प्रदेश भित्र छरिएर रहेका प्रजातन्त्रका सेनानीहरु मध्ये प्रत्येक जिल्लाका एक एक जना गरी ११ जना व्यक्तित्व छनौट गरिएको बताए । योगदान गरेको व्यक्तिको भविष्यमा एउटा ऐतिहासिक दस्तावेज होस् भन्दै कोष खडा गरी सम्मान गर्ने प्रक्रिया थालिएको उनले बताए । नेपाली काँग्रेस गण्डकी प्रदेशका सदस्य एवम् प्रचारप्रसार विभाग उपप्रमुख तथा पुस्तकालयका कोषाध्यक्ष शिरोमणि बरालले पुस्तकालयलाई आगामी दिनमा यस किसिमका गतिविधिलाई निरन्तरता दिइने बताउँदै पुस्तकालयलाई विपीको सिद्धान्तलाई तालिम, प्रशिक्षण दिने स्थलका साथै अध्ययन अनुसन्धानको केन्द्र समेत बनाइने उनले बताए ।
पुस्तकालयका अध्यक्ष माधवप्रसाद बास्तोला(मधु) को अध्यक्षता एवम् नेपाली काँग्रेस गण्डकी प्रदेश प्रचारप्रसार विभाग उपप्रमुख शिरोमणि बरालले सञ्चालन गरेको कार्यक्रम स्वास्थ्य तथा कृषि उद्यमी खुमा अर्याल, नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य कुमबहादुर गुरुङ, नेपाली काँग्रेस गण्डकी प्रदेशका मुख्य सचिव पदम श्रेष्ठ, स्याङ्जाका उपसभापति केदार काफ्ले, मिर्मिरे नगरपालिकाका उपसभापति लक्ष्मण अधिकारी, नेपाली काग्रेस गण्डकी प्रदेश प्रतिनिधि टंकप्रसाद बास्तोला, नेपाली काँग्रेस चितवन पारसनगरका नेता विश्वराज पौडेल लगायतको उपस्थिति थियो ।