पोखरा

शिक्षाशास्त्र सङ्काय पृथ्वीनारायण क्याम्पस, पोखराले शिक्षा महाविद्यालय (कलेज अफ एजुकेसन) को स्थापना दिवसको अवसर पारेर आइतबार क्याम्पस परिसर वरपर सरसफाइ तथा हाजिरीजवाफ प्रतियोगिताको कार्यक्रम सम्पन्न गरेको छ ।
वि.सं. २०१३ भाद्र २४ मा खुलेको कलेज अफ एजुकेसनअन्तर्गत २०२३ सालमा पोखराको पृथ्वीनारायण क्याम्पसमा नेपाल र संयुक्त राज्य अमेरिकाको सहकार्यमा शिक्षा महाविद्यालय, शिक्षक शिक्षण केन्द्रको स्थापना भएको हो । पछि २०२९ सालमा यसलाई शिक्षाशास्त्र अध्ययन संस्थान र २०३८ मा शिक्षाशास्त्र सङ्कायको नाम दिइएको पाइन्छ । अहिले नेपालमा यसै नामबाट स्नातकदेखि विद्यावारिधिसम्मको पढाइ हुने गरेको छ ।
स्थापना दिवसमा शिक्षाशास्त्र सङ्कायका प्राध्यापक र विद्यार्थी मिलेर शिक्षाशास्त्र सङ्काय परिसर, प्रशासन भवन वरपर तथा क्याम्पस बाहिर क्याम्पसको तल्लो गेटदेखि माथिल्लो गेटसम्मको सडक वरपर सरसफाइ गरिएको थियो । सरसफाइपछि शिक्षाशास्त्रमा स्नातक र स्नातकोत्तर तहमा पढ्ने ११ वटा समूहबिच गराइएको हाजिरीजवाफ प्रतियोगितामा ललित पौडेल, निराजन थापा र सुस्मिता पौडेलको समूह प्रथम भएको थियो ।
प्रतियोगितामा ओसन पौडेल, श्रवण सुवेदी र कमलमणी अर्यालको समूह द्वितीय तथा कौशिला पुन मगर, सुनिता सापकोटा र तुलसी घर्तीको समूह तृतीय हुन सफल भएका थिए । प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने समूहलाई क्रमशः ८०००।–, ६०००।– र ४०००।– नगदसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
हाजिरीजवाफ कार्यक्रममा स्वागत मन्तव्य राख्दै शिक्षाशास्त्र सङ्कायका सहायक क्याम्पस प्रमुख यादवराज अधिकारीले राष्ट्रका लागि सबल र योग्य विद्यार्थी उत्पादन गर्न शिक्षाशास्त्र सङ्कायले पठनपाठनका अतिरिक्त सहकार्यकलापमा जोड दिएको बताउनुभयो ।
यसैगरी क्याम्पस प्रमुख प्रा.डा. सरोज कोइरालाले क्याम्पसले विद्यार्थीको सर्वाङ्गीण हित र प्राज्ञिक उन्नयनका लागि अध्ययन अनुसन्धानलाई महत्त्व दिएको स्पष्ट पार्नुभयो । कार्यक्रममा सहायक क्याम्पस प्रमुखहरु प्रा. लालबहादुर कुँवर, मिनराज लम्साल तथा बोधराज ढकालले पनि आआफ्नो धारणा राख्नुभएको थियो ।
उपप्राध्यापकहरु कृष्णप्रसाद त्रिपाठी, डा. पीताम्बर पौडेल, सकुन्तला पंगेनी, गोविन्दप्रसाद गैरे, सञ्जीवराज खनालद्वारा सहजीकरण गरिएको कार्यक्रमको सञ्चालन डा. पितृराज बास्तोलाले गर्नुभएको उप्रप्राध्यापक विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो ।