भाद्र २२, पोखरा ।

कार्कीनेटा सम्पर्क समाज पोखराले आयोजना गरेको तीज विशेष कार्यक्रम आज साइमन पार्टी प्यालेसमा सम्पन्न भएको छ ।
कार्कीनेटाबाट पोखरामा विभिन्न पेशा, व्यवसाय तथा स्थायी र अस्थायी रुपमा बसोवास गर्दै आएका दिदीबहिनीहरुको जमघटमा शुभकामना आदानप्रदान तथा रमाइलो तीज विशेष दर खाने कार्यक्रम मनाएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा समाजका सल्लाहकार उषा काफ्ले शर्माले कार्यक्रममा बोल्दै वर्षमा १ चोटी भएपनि दिदीबहिनीहरु एकैठाउमा बसेर रमाइलो गरी खाना खानुको बेग्लै खुसीको अनुभव भएको जानकारी गराएकी थिइन् ।
उनले सम्पर्क समाज स्थापनाको मूल उद्देश्यलाई स्मरण गरी कार्यक्रमको आयोजनाले मित्रभावलाई अझ प्रागढ बनाउने जानकारी गराएकी थिइन् । कार्यक्रमको उद्देश्य बाहेक भड्कीलो बनाउदा समाज नकरात्मक तर्फ जानु, पश्चिमेली संस्कृतिको हावी हुँदा तीज विशेष दर खाने कार्यक्रमले अराजकता मौलाएको विषयमा समेत उल्लेख गरेकी थिइन ।
त्यसैगरी समाजका अध्यक्ष केशव घिमिरेले दिदीबहिनीहरुलाई स्थापना कालदेखि हरेक वर्ष तीज विशेष दर खुवाई परिचयात्मक रुपमा कार्यक्रम गर्दै आइरहेको जानकारी गराए । उनले निमन्त्रणालाई स्वीकार गरी आएका सबै दिदीबहिनी, आमाहरुलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ कसैलाई नछुटाई उपस्थित गराउनको लागि सबै आजिवन सदस्यलाई अनुरोध गरेका थिए।
त्यसैगरी आजिवन सदस्य गीता शर्माले सम्पर्क समाजले सामाजिक कार्य गरेको सुन्दा आफु हर्षित बनेको र आवश्यक सहयोगमा हातेमालो गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन ।
कार्यक्रम संयोजक शिवप्रसाद शर्माले जिल्ला प्रशासन कार्यालयको नियमानुसार कार्यक्रम गरिएको र समाजका विकृति र विसंगतिलाई रोक्नको लागि सबैले आआफ्नो ठाउबाट सहयोग गर्नुपर्ने जानकारी गराएका थिए । साथै, उनले कार्यक्रम सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गरेका सबैप्रति आभार व्यक्त गरेका थिए ।
समाजका सचिव धनप्रसाद शर्माले सञ्चालन गरेको कार्यक्रममा निवर्तमान सहसचिव दुर्गा शर्मा, आजिवन सदस्य जागेश्वर शर्मालगायतले शुभकामना मन्तव्य गरेका थिए भने अध्यक्ष केशव घिमिरेले समापन गरेका थिए ।