पोखरा, भदौ ९

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा आयोजित हाम्रा चाडपर्व र समय विचलन विषयक अन्तरक्रिया कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
कार्यक्रममा आफ्नो अनुसन्धान पत्र प्रस्तुत गर्दै त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक कल्याण पन्तले अयनांशका कारण सौर्यमासको मिति एक महिना अघि सरेको बताए । समय सरेकै कारण हरेक महिनामा हामीले गर्ने कार्यकलाप र प्रकृतिमा आउने परिवर्तनबिच तालमेल मिल्न नसकेको तर्क गरे । उनले वैशाख १ गते दिनरात बराबर तथा हावापानी पनि न जाडो न गर्मी हुनुपर्ने हो तर यो दिन सरेर चैत्रको पहिलो हप्ताको विशेषता भएको छ भन्ने उदाहरण दिए ।
पन्तले हाम्रा चाडपर्व पनि समयमैत्री बन्न नसकेका र यसमा पञ्चाङ्ग निर्णायक समितिले तिथि उही राखेर मिति अघि सार्नुपर्ने सुझाव दिए । यदि मिति अघि सारिँदैन भने अबका ११२७२ वर्षपछि पुस–माघमा वर्षा ऋतु र असार–साउनमा निकै जाडो हुने सन्दर्भमा जोड दिए । अहिले ऋतुमा परिवर्तन आएका कारण कुनै पनि महिनाका विशेषता एक आपसमा नमिल्ने तथ्यलाई उनले सप्रमाण स्पष्ट पारे ।
कार्यक्रममा टिप्पणीकार नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक श्रीराम बरालले कल्याण पन्तद्वारा प्रस्ताव गरिएको समय निर्धारणको विषयलाई सम्बन्धित पक्षबाट बृहत् छलफलका साथ निष्कर्षमा पुग्नुपर्ने तर्क गरे । अब हामीले पराधीन र परम्परावादी सोचबाट मुक्त भई वस्तुवादी अध्ययनबाट प्राप्त तथ्यांकलाई आधार मानेर पञ्चाङ्ग निर्माण गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा डा. बलराम उपाध्याय रेग्मी, सहप्रा.पूर्णप्रसाद वाग्ले, डा.लक्ष्मीशरण अधिकारी, डा.रामचन्द्र बराल, संस्थाका पूर्व अध्यक्ष योगराज पौडेल, संस्थाका पूर्व उपाध्यक्ष सुरज पौडेल, वर्तमान उपाध्यक्ष हिमामाया पौडेललगायतले समयको परिवर्तन, मानिसका कार्यकलाप, र यसबाट जनजीवनमा परेको प्रभावबारे विभिन्न प्रतिक्रिया दिएका थिए । कार्यसमिति सदस्य विद्यावती शर्माले कविता सुनाउनुभएको थियो ।

संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव डा.भानुभक्त आचार्यले गरेका थिए । कार्यक्रममा शिक्षा, स्वास्थ्य, ज्योतिष, साहित्य, विज्ञान, संस्कृति, खगोललगायत क्षेत्रका करिव १०० जनाको उपस्थिति रहेको संस्थाका सहसचिव मदनप्रसाद बरालले जानकारी दिए । संस्थाले हरेक महिनाको दोस्रो शनिवार विविध विषयमा छलफल गर्दै आएको छ ।