पोखरा / श्रावण १३,

सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शुक्रवार ज्ञानको प्रबोधीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका पूर्व कोषाध्यक्ष एवं सह प्रा डा. ईश्वरमणि अधिकारीले `न्युनतम निकासी समयमा निकासीको अनुकूलता´ तथा संस्थाका वर्तमान सचिव डा. भानुभक्त आचार्यले `सिद्धान्तकौमुदी र श्लोकसिद्धान्तकौमुदीको समीक्षात्मक अनुशीलन´ शीर्षकमा विद्यावारिधि शोधप्रबन्धको सारमा आधारित भएर अनुभव आदानप्रदान गरे ।

डा. ईश्वरमणि अधिकारीले आपतकालीन अवस्थाको थोरै समयमा विद्यमान साधन स्रोतलाई उपयोग गरी कसरी अधिकतम सेवा प्रवाह गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेको बताए । उनले आफ्नो अध्ययनमा आधारित भई फिलिपिन्स, जर्मनी, चीनलगायत देशमा पुगेर यससम्बन्धी अनुसन्धान पत्र प्रस्तुत गरेको बताउँदै यस प्रकारको अनुसन्धान संयन्त्रलाई भोलिका दिनमा कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा समूह कार्य भइरहेको स्पष्ट पारे । उनले आफ्नो अध्ययन भूकम्प,महामारीजस्ता प्रकोपमा प्रकोपका समयमा ठूलो क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने तर्क गरे । उनले हाम्रो जीवनका हरेक पक्षमा गणितको प्रभाव रहेको बताए ।

अर्का अध्येता डा. भानुभक्त आचार्यले व्याकरणको प्रारम्भिक चिन्तन वेदमा भेटिने बताए । यसलाई लौकिक कालमा पाणिनि, कात्यायन र पतञ्जलिले सूत्रात्मक तथा व्याख्यात्मक शैलीमा लिपिबद्ध गरे । पछि १६ औं शताब्दीमा भट्तोजिदीक्षितले सिद्धान्त कौमुदी निर्माण गरे ।यसलाई आधार बनाएर सुरेश झाले पद्यमा श्लोक सिद्धान्तकौमुदी (२०३८) प्रकाशन गरे ।

पठनपाठन तथा भाषासाहित्यका दृष्टिले श्लोकसिद्धान्तकौमुदी उत्कृष्ट ग्रन्थ भएको बताए । उनले उक्त कृति लयात्मक र सरल भएकाले व्याकरणको अध्ययनमा पुनर्जागरण आएको स्पष्ट पारे | साहित्य र व्याकरणको अभिन्न सम्बन्ध रहेकाले यसको अध्ययनले जीवन बोध हुने तथ्य अघि सारे ।

कार्यक्रममा सुलोचना खनाल, सहप्रा.डा.नवराज न्यौपाने, डा.श्रीकृष्ण पन्थी, टिकाराम आचार्य आरुणि, श्रीधर न्यौपाने, डा. भोला नारायण रेग्मी, सुरज पौडेल, पूर्व अध्यक्ष योगराज पौडेल, सहप्रा. अम्बिकाप्रसाद भट्टराई, सहप्रा.राधाकृष्ण गैरे, सूर्यभक्त सिग्देल, हिममाया पौडेल, वसन्त चालिसेलगायतले विभिन्न जिज्ञासा राखेका थिए ।

उनीहरुले गणित र व्याकरणको सम्बन्ध रहेको बताउँदै वर्तमानमा यी दुवै विधाको थप उपादेयता रहेको स्पष्ट पारे । यस्ता कार्यक्रमबाटअनुसन्धानलाई समाजसँग र सिर्जनालाई जीवनसँग जोड्न सकिने बताए ।  गणितलाई जटिल र औचित्यहीन ठान्ने वर्तमान समाजको गलत बुझाइलाई चिर्न यस प्रकारका कार्यक्रमले सहयोग मिल्ने तर्क रहेको थियो ।।

संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष ज्यो.हरिश्चन्द्र भण्डारीले गरेका थिए । संस्थाले हरेक महिनाको दोस्रो शनिवार सृजनात्मक, समालोचनात्मक, अनुसन्धानमूलक कार्य गर्दै आएको संस्थाका उपाध्यक्ष हिमामाया पौडेलले जानकारी दिइन् ।