पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीको आयोजनामा ‘पत्रकारिता स्वार्थको टकराव’ विषयक कार्यशाला सम्पन्न भएको छ । ४७ औं स्थापना दिवसका अवसरमा मंगलबार र बुधबार दुई दिन सम्म चलेको कार्यशालालाई अटवा युनिभर्सिटी क्यानाडाका प्राध्यापक डा. भानुभक्त आचार्य र नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष प्रा.डा. सुरेश आचार्यले सहजीकरण गरे ।
कार्यशालामा सहभागीलाई प्रमाण पत्र प्रदान गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अहम अहंकारलाई त्याग्दै सिक्ने प्रक्रियालाई अगाडि बढाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । उनले फेक समाचारले समाजमा असर परेको बताए । समाचारमा विश्वसनियता हुनुपर्ने धारणा मेयर आचार्यको छ । शुद्धिकरण पत्रकारिता मात्र नभई हरेक क्षेत्रमा आवश्यक रहेको उनले बताए । पोखराको पत्रकारितालाई माथि उठाउन महानगर प्रतिबद्ध रहेको भनाई उनको छ ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष डा. सुरेश आचार्यले सुचना प्रविधि तीव्र गतिमा अगाडि बढ्दा हामी पछि पर्ने डर भएको उल्लेख गरे । उनले सिकाई कहिल्यै नसकिने र पत्रकारिताको क्षेत्र व्यापक रहेको बताए । पत्रकारितामा अझै पनि समेट्नुपर्ने विषय नसमेटिएको भनाई उनको छ । लोकल मिडियाहरुले लोकल विषयलाई उठाउनुपर्ने धारणा उनले राखेका छन् ।
पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले गण्डकीका पत्रकारको शुद्धिकरण केन्द्रको मापदण्ड अनुसार नै गरिने बताए । व्यवसायिक पत्रकारितालाई मर्यादित बनाउनुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।
पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकार महासंघ कास्की गरिमा बोकेको संस्था भएको र यसलाई उचो गराउने गरी आफु नेतृत्वको टीम लागिरहेको बताइन् । पत्रकारिता क्षेत्रमा विश्वसनियता बढाउन सिकाई आवश्यकता पर्ने र महासंघले बेलाबखत विभिन्न विषयमा यस्ता तालिमको आयोजना गर्दै आएको जानकारी उनले गराएकी छिन् । पोखरा महानगरपालिकाले पत्रकार महासंघलाई अन्य संस्था जस्तो एउटै बास्केटमा राखेर हेर्न नहुने उनको तर्क छ ।
कार्यशालामा प्रशिक्षार्थीका तर्फबाट सुरेश रानाभाट, दिननाथ बराल र ज्योति हमालले बोलेका थिए । दुई दिनको कार्यशाला फलदायी रहेको भनाई उनीहरुको छ । नयाँ विषयका बारेमा जानकारी मिल्दा पत्रकारितामा सहज हुने विश्वास समेत प्रशिक्षार्थीले गरेका छन् ।
पत्रकार महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाको संयोजन, महिला उपाध्यक्ष जमुना वर्षा शर्माको संचालनमा सम्पन्न कार्यशालामा कास्कीका ६५ बढी पत्रकारहरुको सहभागिता थियो ।