वैशाख २४ गते एक विहानै पोखराको आकाश गडगडायो, अध्यारो कालो वादलले आकाश छोप्यो, घरी पानी प¥यो घरी घामको किरण देखा प¥यो, घरी–घरी झुल्केको किरणले सबैको प्यारो किरणलाई आफूतिर तान्यो ।
पोखरामा करिब २३ वर्षदेखि व्यवसायिक रुपमा सञ्चालित रोजिना अफसेट प्रेसका सञ्चालक गिरबहादुर श्रेष्ठ (किरण) लाई पोखरामा नचिन्ने कमै भेटिन्छन् । उनि व्यवसायिक रुपमा मात्र नभई सामाजिक क्षेत्रमा पनि उल्लेख्य योगदान पु¥याएका थिए ।
सबैको प्यारो चिजलाई भगवानले पनि आँखा लगाउछन् भनेझैं त्यस्तै भयो त्यो दिन । विहान आफ्नै निवासमा करिब ५ः३० बजे विहानी कर्म सकेर पुरानो अफिस सार्नको लागि क्रेनको लागि फोन गरे र चिया पिए । हल्का टाउको दुख्यो भनेर वेडमा आराम गरेका किरणलाई अचानक हृदयघात भयो । मनिपाल शिक्षण अस्पतालमा पु¥याउँदा उनलाई करिब ५ः४५ मा चिकित्सकले मृत घोषणा गरेको मुद्रण उद्योग संघका केन्द्रीय उपाध्यक्ष पदमलाल श्रेष्ठले बताए ।
उपाध्यक्ष श्रेष्ठले किरणको निधनले मुद्रण व्यवसायी संघ, तथा गण्डकी प्रदेशलाई ठूलो क्षति भएको बताए । “प्रकाशको किरण जस्तै गरी दु्रत गतिमा व्यवसायिक तथा सामाजिक क्षेत्रमा ठूलो फड्को मारेका थिए ।”
महेन्द्रपुलबाट सञ्चालित प्रेस केही दिनबाट आफ्नै भवनबाट सुरु गर्ने तयारीमा लागेका किरणको निधनले पोखरेली छपाई व्यवसायीलाई एकाएक शोकमा परिणत गरायो । पोखरामा उच्च स्तरीय अफसेट प्रेस तथा डिटिएफ प्रिन्ट सञ्चालनमा विशेष योगदान पु¥याएका किरणले गण्डकी प्रदेश भित्र रहेका मुद्रण व्यवसायीहरुलाई एकवद्ध बनाई केन्द्रमा लैजाने छपाई कामलाई रोक्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका थिए, उनले भने ।
“हामी दुई कक्षा ८ देखि सँगै पढेर पोखरामा पनि सँगै आयौं, सँगै व्यवसाय सुरु गरेउ, मैले नाम राखेको रोजिना अफसेट प्रेस हामी दुवैको विवाह भएपछि सल्लाह गरेर प्रेस किरणले व्यक्तिगत रुपमा हस्तान्तरण गरे । छोरीको नाम उनले रोजिना राखे” केन्द्रीय उपाध्यक्ष श्रेष्ठले भने ।
सालिन एवम् भद्र स्वभावका किरणको निधनमा विभिन्न समाजिक संस्थाले शोक विज्ञप्ती प्रकाशन गरेका छन् भने मुद्रण व्यवसायी संघ कास्कीले १ दिन कास्की जिल्ला भित्रका छापाखानाहरु बन्द गरेको थियो ।
गोरखा जिल्लाको शहिद लखन गाउपालिका वडा नं. ६ साविक धैरुङ बास्कोट मा २०३१ साल असार २३ गते बुवा मेघनारायण श्रेष्ठ र आमा काशीमाया श्रेष्ठको कोखबाट जन्मिएका किरणको कोपिला श्रेष्ठसँग वैवाहिक सम्बन्ध गासिएको थियो । उनका २ छोरीहरु रोजिना र रजनी श्रेष्ठ रहेका छन् ।
उनि मनकामना गुठी परिवार पोखरा, गोरखा मिलन समाज पोखरा, अन्नपूर्ण युवा क्लब घैरुङका सल्लाहकार, मुद्रण उद्योग संघ कास्की, गण्डकी फ्रेम उद्योग एण्ड क्राफ्ट उद्योगका अध्यक्ष, रोयल बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष, गोरखा धैरुङ सपोर्ट सोसाइटी काठमाण्डौका मानार्थ सदस्य, हिमालयन मावि धैरुङको अक्षयकोष दाता, लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक ३२५ “के” का रिजन चेयर पर्सन, लायन्स क्लब अफ पोखरा संगमका पूर्व अध्यक्ष, पोखरा बहुमुखी क्याम्पसका आजिवन सदस्य समेत रहेका थिए ।