पोखरा
नयाँ सम्भावनासँगै
नयाँ वृन्दावनमा आज
डेरिडासँगै नाचौँझैँ लाग्यो
ओम ब्रह्म शीर्षकको कवितासँगै कवि डा.भूमिराज बस्ताकोटीको एकल कविता वाचन कार्यक्रम आरम्भ भयो । बिहानको ८ बज्न नपाउँदै पोखरेली वाङ्मयप्रेमी र साहित्यकारहरू कन्या क्याम्पसको सभाहलमा जम्मा भए । बस्ताकोटीले आफ्ना कविताको पोको फुकाए ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराद्वारा आयोजित कवि भूमिराज बस्ताकोटीको एकल कविता वाचन कार्यक्रममा बस्ताकोटीले लघुतम र फुटकर गरी दुई दर्जन बढी कविता सुनाए । उनले सुनाएका मलाई शान्ति चाहिएको छ, जिउँदाका मलामी र मर्दाका जन्ती, आत्माभिमानको मृत्युउत्सव, तिम्रो र मेरो सम्बन्ध, पाठयोजना, वर्णविन्यासलगायत शीर्षकका कविताले स्रोतालाई मनोरञ्जन दिलाउनका साथै युगबोध र जीवनदर्शन गराएका थिए । बस्ताकोटीको प्रस्तुति शैलीलाई वाङ्मयप्रेमीहरुले खुलेर प्रशंसा गरे । बस्ताकोटीलाई साहित्यकार शिव त्रिपाठी र सञ्जीव पौडेलले साथ दिएका थिए ।
स्रष्टा परिचय दिँदै संस्थाका पूर्व उपाध्यक्ष सुरज पौडेलले बस्ताकोटीलाई बहुमुखी प्रतिभासम्पन्न व्यक्तिका रुपमा चिनाए । उनले बस्ताकोटी कथा, कविता, समालोचना र उपन्यास विधामा सक्रिय रहेको बताए । उनले बस्ताकोटीलाई विनिर्माणमा विश्वास गर्ने आलोचनात्मक चेत भएका हाडे ओखरको संज्ञा दिए । बस्ताकोटीका कवितामा जीवनदर्शन र समाजलाई हेर्ने सघन दृष्टि रहेको साथै भाव र कलाका दृष्टिले उनका कविता सशक्त रहेको तथ्य पौडेलले स्पष्ट पारे । समग्र कविताको समीक्षा गर्दै प्रा.डा. यमबहादुर पौडेल क्षत्रीले बस्ताकोटीका कविता विषय, प्रवृत्ति र सन्देशका दृष्टिले मौलिक रहेको बताए । उनले बस्ताकोटीलाई समग्र साहित्यका क्षेत्रमा बलियो सम्भावना बोकेका सर्जकका रुपमा उभ्याए ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माले संस्थामा हालसम्म तीन ओटा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न भएको बताए । यसपूर्व कल्याण पन्तको एकल लघुकथा वाचन र डा. जगन्नाथ रेग्मीको एकल कविता वाचन कार्यक्रम भएको उनले सम्झाए । कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश मानन्धरले संस्थाले गरेका हरेक कार्यक्रम उपलब्धिमूलक रहेको भनी प्रशंसा गरे । संस्थाका उपाध्यक्ष हिमामाया पौडेलले स्वागत र कार्यक्रमको सञ्चालन सचिव भानुभक्त आचार्यले गरेका थिए । संस्थाले हरेक महिनाको दोस्रो शनिबार सिर्जनात्मक, समालोचनात्मक र अनुसन्धानमूलक् कार्यक्रम गर्दै आएको संस्थाका सहसचिव मदन बरालले जानकारी दिए ।