कवि भूमिराज बस्ताकोटीले शनिबार एकल कविता वाचन गर्ने भएका छन् ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको आयोजनामा बस्ताकोटीले वैशाख ९ गते कन्या क्याम्पस पोखरा–३ को सभाहलमा एक कार्यक्रमका बिच एकल कविता वाचन गर्ने सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराका अध्यक्ष विष्णुप्रसाद शर्माले जानकारी गराए । बस्ताकोटी बलियो सम्भावना बोकेका सर्जक मानिन्छन् ।
वि.सं. २०३६ साल माघ २९ गते कास्कीकोटमा जन्मेका बस्ताकोटी सिर्जना र समालोचना दुवै विधामा सक्रिय छन् । बस्ताकोटीका परिस्थिति उपन्यास (२०५९), स्वैरकल्पना र उपन्यासकार ध्रुवचन्द्र गौतम समालोचना (२०६६), निर्मोचन उपन्यास (२०६८), कार्निभल कथासंग्रह (२०७६) लगायत कृति प्रकाशित छन् । उनले “महाभारतबाट विनिर्मित नेपाली उपन्यासको अध्ययन” शीर्षकमा विद्यावारिधि गरेका छन् ।
बस्ताकोटीको रुचिको क्षेत्र कविता हो । उनले मुक्तकदेखि फुटकर कवितासम्म लेख्ने र वाचन पनि गर्ने गर्छन् । धेरै साहित्यकारको अनुरोध र उनकै पनि इच्छाअनुसार शनिबार उनले एकल कविता वाचन गर्न लागेका हुन् । कविता लयात्मक र रागात्मक विधा भएकाले उनको यो कार्यक्रम रोचक र सफल बन्ने दाबी आयोजकको छ ।