नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य डा.शेखर कोइरालाले नेपाली काँग्रेस वीपी कोइरालाले प्रतिपादन गरेको विचारलाई अगालेर हिड्नु पर्नेमा जोड दिएका छन् ।
नेपाली काँग्रेस गण्डकी प्रदेशद्वारा मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीभित्र व्यक्तिवादी चरित्र हावी हुँदा विचारको राजनीति कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गरेका थिए ।
वीपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोलाई नेपाली काँग्रेसले छाड्न नहुने उनको भनाई थियो । ‘विचार बिनाको राजनीतिबाट कुनै गन्तब्यमा पुग्न सकिदैन, उनले भने–पार्टीको आउँदो १५ औं महाधिवेशनबाट नेपाली काँग्रेसलाई भ्रष्टाचारमुक्त पार्टी, जनताप्रति उत्तरदायी र जवाफदेही पार्टीको रुपमा विकास गर्नु पर्छ । ’
‘नेपाली काँग्रेस प्रजातन्त्र प्रति विश्वास राख्ने पार्टी हो, काँग्रेस प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायलय, मानव अधिकार, व्यक्ति स्वतन्त्रता प्रति सधैं प्रतिवद्ध र यि कुरामा कसैसँग सम्झौता गर्दैन्, उनले भने– नेपाली काँग्रेसको विचारलाई गाउँगाउँसम्म पु¥याएर आम युवा तथा महिलालाई नेपाली काँग्रेसप्रति आकर्षित गर्न जरुरी छ ।’ तनहुँको उपनिर्वाचनको प्रचारप्रसारमा पुगेर फर्किएका डा. कोइरालाले तनहुँमा नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई निर्वाचन जित्ने दावी समेत गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँमा उम्मेदवार बनेका स्वर्णिम वाग्लेलाई आफूले यस अघि चितवनबाट उपनिर्वाचन लड्न आग्रह गरेको तर उनले चितवनमा निर्वाचन लड्न मानेनन् नेता कोइरालाले भने ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले नेपाली काँग्रेसले वर्तमान अवस्थाको फाइदा लिँदै पार्टी र संगठन विस्तारमा जुट्न सुझाव दिए । सरकारमा रहेको बेला पार्टी विस्तारमा जति सजिलो हुन्छ नहुँदा कठिन भएकाले काँग्रेसले युवालाई समेट्दै पार्टीलाई नयाँ सिराबार अगाडि वढाउन जरुरी भएको बताए । पार्टीभित्र विचारभन्दा पनि व्यक्तिवादी स्वार्थ हावी हुँदा पार्टी कमजोर भएको बताउँदै नेता गौतमले पार्टीको १५ औं महाधिवेशनबाट वैचारिक रुपमा अगाडि बढाउन सुझाव दिए ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले भोलिका पीडिका लागि काँग्रेसले सोच्न जरुरी भएको बताए । युवाहरुको भविष्य निर्धारण गर्ने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको बताउँदै नेता शर्माले अब काँग्रेसले परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माको सभापतित्वमा भएको उक्त कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीको विभिन्न भातृ तथा शुभेच्छुक संस्थाको प्रतिनिधिहरुको पार्टीलाई अगाडि वढाउनका लागि सुझावहरु दिएका थिए ।
नेपाली कांगे्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको कार्यक्रम प्रदेश उपसभापति कल्पना तिवारीले समापन गरेकी थिइन् ।