नेपाली कांग्रेस गण्डकी प्रदेशका पूर्व मुख्य सचिव तथा गण्डकी प्रदेश सभा सदस्य माननीय प्रकाश बराललाई पितृशोक परेको छ ।
उनका पिता लोकराज बरालको शुक्रबार ८२ वर्षको उमेरमा फागुन २६ गते साँझ ५ः३० बजे आफ्नै निवास विरौटामा निधन भएको हो । उनी पुम्दीभुम्दीका स्थायी बासिन्दा हुन् ।
स्व. बराल लामो समय शिक्षण पेशामा रही सेवा गर्नुका साथै सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनी बर्तमान राष्ट्रपति रामचन्द्र पौडेका मितसमेत हुन् । बनारस पढ्न बस्दा उनले राष्ट्रपति रामचन्द्रसँग मित लगाएका आफन्तसमेत रहेका नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ‘ख’ का सचिव ठाकुर बरालले जानकारी दिए । लोकराजका एक श्रीमतीसहित पाँच छोरा र तीनजना छोरीसहित नाति–नातिना रहेका छन् । एक श्रीमतीको भने पहिल्यै निधन भइसकेको छ । उनको पार्थिक शरीरको शनिवार सेतीनदी रामघाटमा अन्त्येष्टि गरिएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशले एक विज्ञप्ती प्रकाशित गर्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्व.बरालको निधनप्रति गहिरो दुःख व्यक्त गरेको जानकारी गराएको छ भने दिवंगत आत्माको आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेको नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराएका छन् ।