ध्रुवचन्द्र गौतमका उपन्यासमा मानव सम्बन्धको खोजी सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा संस्थापक सदस्य एवम् उपप्राध्यापक श्रीधर न्यौपानेले आख्यानपुरुष ध्रुवचन्द्र गौतमको `उपसंहार अर्थात् चौथो अन्त्य उपन्यासमा मानव सम्बन्ध´शीर्षकको अनुसन्धान पत्रमार्फत कृतिलाई अस्तित्ववादी जीवनदृष्टिबाट निरुपण गरे । उनले कृतिमा मानव अस्तित्वको साधक, अन्य अस्तित्वको बाधक र अन्यसँग द्वन्द्वात्मक सम्बन्ध रहेको देखाए ।
उपन्यासमा प्रमुख भूमिकामा रहेका पात्रहरु लक्ष्मी र रविले एक अर्कालाई अस्तित्वको साधक र बाधकका रुपमा लिँदा ती दुई पात्रका बिचमा द्वन्द्वात्मक सम्बन्ध रहेको कुरालाई आख्यानात्मक र नाटकीय शैलीमा प्रस्तुत गरिएको बताए | गौतमका २८ ओटा उपन्यासमध्ये यो नवौँ उपन्यासमा मानिसले अन्यका बिचमा रहेर आफ्नो अस्तित्व प्रमाणित गर्छ भन्ने तथ्यलाई उपन्यासका साक्ष्य, दार्शनिक पक्ष र अस्तित्ववादी सिद्धान्तका कोणबाट स्पष्ट पारे |
अनुसन्धान पत्रमाथि समीक्षा गर्दै डा. भूमिराज बस्ताकोटीले अनुसन्धान पत्रमा मानव सम्बन्धलाई बहुआयामिक कोणबाट चर्चा गरिएको बताए | उनले अनुसन्धान पत्र लेखनमा अनुच्छेदविन्यास र संसक्तिगत पक्षमा जोड दिनुपर्ने सुझाव दिए | उनले अनुसन्धान पत्रलाई अझ वस्तुपरक र अनुसन्धानमूलक बनाउन राम्रो हुने तर्क राखे |
कार्यक्रममा सुरज पौडेल, डा.लक्ष्मीशरण अधिकारी, डा.सबिन्द्रराज भण्डारी, सुलोचना खनाल, सूर्यभक्त सिग्देललगायतले विभिन्न टिप्पणी र जिज्ञासा राखेका थिए ।
कार्यक्रममा हिममाया पौडेल र रेसम सुवेदीले सिर्जनासुनाएका थिए । कार्यक्रममा आजीवन सदस्य प्रा. डा.यमबहादुर पौडेल क्षत्रीलाई सम्मान र आर्थिक सहयोग गर्नुहुने उपप्राध्यापक रामेश्वर बराललाई धन्यवाद दिइएको थियो ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भानुभक्त आचार्यले गरेका थिए । संस्थाले हरेक महिनाको दोस्रो शनिबार सिर्जनात्मक, समालोचनात्मक र अनुसन्धानमूलक कार्यक्रम गर्दै आएको छ |