मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले सामाजिक अभियन्ता यशकुमारी जिसीको स्मृतिमा स्थापित यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कारका लागि प्रतिभा आह्वान गरेको छ ।
संघको आइतवार सम्पन्न बैठकले विगतका वर्षमा जस्तै संघको अधिवेशनमा अर्पण गरिने पुरस्कारका लागि उक्त सूचना जारी गरेको हो ।
कुनै पनि राजनीतिक पद धारण नगरी कम्तीमा १० वर्षदेखि अधिकारका क्षेत्रमा काम गरेको महिलाले आफ्ना शैक्षिक योग्यता तथा अधिकारका क्षेत्रमा दिएको योगदान खुल्ने कागजातका प्रतिलिपि, व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहितको आवेदन पठाउनु पर्ने संस्थाले जनाएको छ । हुर्जाद्वारा गठित प्रतिभा छनौट समितिले प्राप्त आवेदनमध्ये उत्कृष्टताका आधारमा पुरस्कृत व्यक्तित्व चयन गर्ने संस्थाद्वारा जारी सूचनामा जनाइएको छ । जसका लागि आफ्नो व्यक्ति विवरण हुर्जा गण्डकीको इमेल ठेगाना hurjagandaki2066@gmail.com मा पठाउनु पर्ने छ ।
उक्त पुरस्कारको राशि नगद १५ हजार १५, सम्मानपत्र र दोसल्ला रहेको छ । उक्त पुरस्कारबाट हालसम्म अधिकारकर्मी कास्कीकी प्रमिला तझ्या र लमजुङकी सानुमाया गुरुङ पुरस्कृत भइसकेका छन् ।
संस्थाले यशकुमारी जिसी स्मृति पुरस्कारका साथै ११ हजार १ सय ११ राशिका विविध पुरस्कारसहित विशिष्ट संस्था सम्मान अर्पण र मानवअधिकार आवाज मुखपत्र प्रकाशन गर्दै आएको छ । हालसम्म मानवअधिकार आवाजका १० अंक पनि प्रकाशन गरिसकेको छ ।
मानवअधिकार पत्रकारिता पुरस्कारबाट हालसम्म श्यामनाथ कुँवर, स्मीता अधिकारी, श्रीकान्त सापकोटा
सम्मानित भइसकेका छन् । समाजसेवा सम्मानबाट चन्दबहादुर गुरुङ र बालअधिकारकर्मी एलिना श्रेष्ठ सम्मानित भइसकेका छन् । उक्त सम्मान तथा पुरस्कारको राशि ११ हजार १ सय ११ रहेको छ ।
यसैगरी सहयात्रा सम्मानबाट मतिलाल विशंखे, सीता जिसी, कृष्ण अन्जान ज्ञवाली, संस्थागत सम्मानबाट राष्ट्रिय मानवअधिकार आयोग गण्डकी, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक, आदर्श समाज राष्ट्रिय दैनिक, परिवर्तन नेपाल र सयपत्री समाज सम्मानित भइसकेको पूर्व अध्यक्ष राजेश पराजुलीले जानकारी दिए ।
स्मरण रहोस्, तत्कालीन पोखरा लामाचौर–१९ मा २०१४ कार्तिक १३ गते जन्मेकी जिसी तत्कालीन महिला तथा बालबालिका विकास कार्यालयमा प्रमुखका रूपमा स्याङ्जाको वालिङमा सेवारत रहेकै समयमा २०४५ फागुन १ गतेका दिन स्वर्गारोहण भएको थियो ।
महिला प्रशिक्षण केन्द्र जावलाखेलको २०३९ सालको पहिलो व्याचका रुपमा रहेकी जिसीले ग्रामीण महिलाहरुको पेवा बढाउने, समूह गठन र महिलाहरुको विना धितो लगानी, कृषितर्फ अदुवा, तरकारी, वेसा, कफी खेती, रेशम किरा पालन, बाख्रा, भैंसी, कुखुरा पालन, उद्योगतर्फ पाउरोटी, गलैचाँ सिलाइबुनाइ तालिम प्रदान गर्दै महिला शसक्तिकरणमा क्रियाशील अधिकारका क्षेत्रमा क्रियाशील रहेकी थिइन् । उनको योगदानलाई चिरस्थायी गराउन भाइ सविन जिसीको सक्रियतामा हुर्जाले सञ्चालन गर्ने र अधिवेशनमा पुरस्कार अर्पण गर्ने गरी यशकुमारी जिसी स्मृति अक्षयकोष स्थापना गरेका हुन् । सोही कोषको व्याजबाट अधिकारकर्मीलाई पुरस्कृत गरिँदै आइएको हुर्जा गण्डकीका अध्यक्ष असफल गौतमले जानकारी दिए ।
संस्थाले जारी गरेको सूचना यसप्रकार छ