पोखरा १२, पुष । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा मंगलबार विज्ञप्ती प्रकाशित गरि गठबन्धनलाई सत्ता प्राप्तीको विषयमा मात्र केन्द्रीत गर्नु दुर्भाग्यपूर्ण रहेको बताइएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माको हस्ताक्षरित विज्ञप्तीमा मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली कांग्रेस सहितको गठबन्धनलाई नेपाली जनताले आशा र भरोसाका साथ विजय गराए पनि अहिले सरकार गठनका सन्दर्भमा अनपेक्षित र अप्रत्यासित घटनाक्रमको विकास भई निर्वाचन परिणाम प्राप्त भएको १५ दिन पनि वित्न नपाउँदै ५ दलीय गठबन्धन टुटेर माओवादी केन्द्रको नेतृत्वमा एमाले सहितको गठबन्धनको सरकार निर्माण नेपालको प्रजातान्त्रिक इतिहासमा र संसदीय व्यवस्थाको लामो अभ्यासहरुमा यो अत्यन्त दुर्भाग्यपूर्ण घटना हो भनी लेखिएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका महामन्त्री किरणवावु श्रेष्ठले “यस घटनाले पाँच दलीय गठबन्धनका नेताहरुको जनतामाझ व्यक्त गरेका सम्पूर्ण आश्वासनहरु धोका धडिमा वदलिनुका साथै देश, जनता र नेपाली कांग्रेस पार्टी स्वयम्लाई पनि धोका भएको छ । गठबन्धनलाई सत्ता प्राप्तीको विषयमा मात्र केन्द्रीत गर्नु दुर्भाग्यपूर्ण हो भन्ने पनि हाम्रो ठहर छ, हामी यसको घोर निन्दा गर्दछौं,” भने ।
महान्त्री श्रेष्ठले “निर्वाचनमा हामी ५ दलिय गठबन्धनका पार्टीहरु संविधानको रक्षा, स्थिरता र समृद्धिको नारा सहित जनतामाझ प्रस्तुत भएका थियौं । तर अहिले नयाँ गठबन्धनको सरकार निर्माणले यो विषय पनि धरापमा परेको नेपाली काग्रेस, गण्डकी प्रदेश ठहर गर्दछ । नेपाली जनताले नेपाली कांग्रेसलाई पहिलो ठूलो दलको रुपमा विजय गराएको भएतापनि अहिले तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रको नेतृत्वमा अप्रत्यासित रुपमा नेपाली कांग्रेस वाहेकको संघीय सरकार गठन हुन पुगेका कारण ५ दलीय गठबन्धनले जनता सामु गरेका प्रतिवद्धताहरु सरकारमार्फत पुरा गर्ने अवसरबाट नेपाली कांग्रेस पनि बन्चित हुन पुगेको छ ।”
त्यसैगरी अर्का महामन्त्री विष्णुप्रसाद लामिछानेले “यद्यपी नेपाली कांग्रेस सदैव प्रजातन्त्रको रक्षा, मुलुक र जनताको पक्षमा संघर्ष गर्दै आएको एक जिम्मेवार र ऐतिहासिक पार्टी भएकोले यस घटनाबाट उत्पन्न हुने कुनै पनि परिस्थितिको सामना गर्न नेपाली कांग्रेस सक्षम रहेको गण्डकी प्रदेशवासी सबैलाई हार्दिकता पूर्वक विश्वास दिलाउन चाहन्छौं । यस घटनाबाट भएको अप्ठेरो परिस्थितिमा पार्टीका आम कार्यकर्ता, शुभेच्छु्क, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, उद्योगी, व्यापारीहरु लगायत सम्पूर्ण जनतालाई विकशित घटनाक्रमबाट अलिकति पनि निराश र विचलित नहुन एवम् उच्च मनोवल राख्नुहुन अनुरोध गर्दछौं” भने ।
विज्ञप्तीको अन्त्यमा नेपाली कांग्रेस आगामी दिनमा विगतका घटनाक्रमलाई सुक्ष्म विष्लेषण गरी नयाँ ढंग र नयाँ सोंचका साथ सुदृढ संगठन निर्माण गर्दै राष्ट्रिय राजनीतिमा नयाँ भूमिकाका साथ प्रवेश गरी व्यक्ति केन्द्रीत विकासको यात्रामा राष्ट्र निर्माण अभियानमा दृढतापूर्वक अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरिएको उल्लेख गरिएको छ ।