पोखरा /
शनिबार कविशिरोमणि लेखनाथ पौड्यालको १३९ औ जन्मजयन्तीको सन्दर्भ पारेर सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराले शनिबार १०६ औ शृंखलाअन्तर्गत सिर्जना वाचन,कृति परिचर्चा तथा काव्य विमर्श कार्यक्रम सम्पन्न गरेको छ | सिर्जनावाचन कार्यक्रममा पोखरा र वरपरका सर्जकहरुले लेखनाथ पौड्यालसँग सम्बन्धित शास्त्रीय कविता तथा स्वतन्त्र सिर्जना सुनाएका थिए |
यस सन्दर्भमा अमृत क्षत्री,प्रकाश ज्ञवाली.शिव त्रिपाठी,इन्दु सुवेदी पौडेल.ड़ा. बाबुराम अधिकारी,ड़ा.टीकाराम आचार्य आरुणि,आचार्य लक्ष्मण,तेजबहादुर गुरुङ,तारानाथ पराजुली,वसन्त चालिसे,कल्याण पन्त, वसन्त पराजुली,राम पौडेल अम्मली,विद्यावती शर्मा,ड़ा.इश्वरमणि अधिकारी,स्मारिका सुवेदी,ड़ा.नवराज न्यौपाने ड़ा.भूमिराज बस्ताकोटीलगायतका कथा,कविता,गीत,गजल,लघुकथामूलक सिर्जनाले कार्यक्रममा विविध साहित्यिक आस्वादन गराएका थिए | कार्यक्रममा कथाकार स्मारिका सुवेदीको कथासंग्रहको परिचर्चा गरियो |
कृतिको परिचर्चा गर्दै समीक्षक सुरज पौडेलले कृति विषयवस्तु,शैली र शिल्पका दृष्टिले उत्कृष्ट रहेको बताए |उनले कथाकृतिमा सामाजिक विकृति र विसंगतिप्रतिको विद्रोह,पर्यावरणीय चेत,पशु अधिकार,भ्रमपूर्ण जीवनको प्रस्तुति,नारीवादी स्वर,आत्मिक प्रेम,क्रान्तिकारी र विद्रोही भाव जस्ता विशेषता रहेको उल्लेख गर्दै कृति पठनीय र महनीय रहेको टिप्पणी गरे | कथाकार स्मारिका सुवेदीले कथा लेखनको आधार हाम्रो समाज र जीवन रहेको सन्दर्भ उल्लेख गरिन् | कृतिमा १७ ओटा कथा समेटिेएका छन् |
कार्यक्रममा काव्य विमर्शका रुपमा समालोचक शोभाकान्त गौतमले कविशिरोमणि लेखनाथ पौड्यालको कवित्त्व,दार्शनिक पक्ष र सामाजिकता बारेमा प्रकाश पारे | उनले लेखनाथलाई आधुनिक युगका प्रवर्तक,कविहरुका शिरका मणि,शाश्वत कवि र पोखरेली छोराका रुपमा पुष्टि गरे | प्रकृति चित्रण, नैतिक सन्देश र सामाजिकता लेखनाथका काव्यमा पाइने मूल स्वर रहेको र ऋतुविचार हालसम्मकै अद्वितीय खण्डकाव्य रहेको पुष्टि गरे | यसमा कवितामार्फत नेपाली समाज र संस्कृतिको प्रतिबिम्बन पाइने तर्क गरे |
कार्यक्रममा प्रमुख अतिथिका रुपमा प्राध्यापक ड़ा. कुसुमाकर न्यौपानेले निरन्तर साधना,सकारात्मक सोच,र अध्यवसाय नै सफल जीवनका आधार रहेको पुष्टि गर्दै समाजलाई सही मार्गमा हिंडाउन सिर्जनाले सहयोग पुर्याउने सन्दर्भमा जोड दिए | उनले सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठानले गर्दै आएका प्राज्ञिक कार्यको प्रशंसा गरे | कार्यक्रममा नयाँ आजीवन सदस्य सर्जक इन्दु सुवेदी पौडेललाई स्वागत र सम्मान गरिएको थियो |
संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष हिमामाया पौडेल र कार्यक्रमको संचालन सचिव भानुभक्त आचार्यले गरेका थिए | संस्थाले हरेक महिना सिर्जनात्मक, समालोचनात्मक र अनुसन्धानमूलक कार्य गर्दै आएको संस्थाका सहसचिव मदन बरालले जानकारी दिए |