गण्डकी प्रदेश स्तरीय पाँच दलिय गठबन्धनको भेला आज पोखरा सभागृह हल, पोखरामा सम्पन्न भएको छ ।
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै सभापति तथा प्रधानमन्त्री देउवाले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन भएको हुँदा चुनावी कार्यक्रममा कार्यकर्तालाई एकजुट भएर अगाडि बढ्न आग्रह गरेका थिए । उनले राष्ट्र २००७ देखि ल्याएको प्रजातन्त्र देखि लोकतन्त्रसम्मका कालखण्डमा विभिन्न समस्याका कारण राष्ट्रलाई कुन दिशातर्फ लैजाने अवस्था आएको हुँदा सुन्दर व्यवस्था सिर्जनाको लागि गठबन्धन आवश्यक भएको जानकारी गराएका थिए।
उक्त कार्यक्रममा राष्ट्रको विकासको लागि बहुमतको सरकार आवश्यक भएको र एकल बहुमत कसैको पनि नआउने हुँदा सुन्दर राष्ट्रको लागि गठबन्धन आवश्यक रहेको औल्याएका थिए । लोकतन्त्रमा सबैको पालो आउने र कोही पनि नहार्ने जानकारी गराउँदै अबको सरकार गठबन्धन नै सरकारमा रहने हुँदा सबैको जीत हुने सुनिश्चित गराएका थिए ।
राष्ट्र हितको लागि गठबन्धनको सरकार आवश्यक रहेको हुँदा सबै साथीहरुलाई टिकट सुनिश्चित नभएपनि आगामी दिनमा त्यसलाई समन्वय गरेर लैजाने बताउँदै हिजोका कुरा बोकेर नभई राष्ट्रिय हितमा अगाडि बढ्न गठबन्धनलाई सहयोग गर्न सम्पूर्ण कार्यकर्तालाई आग्रह गरेका थिए । गठबन्धनको जित सुनिश्चित भएको हुँदा चुनावी रणनीतिलाई असर पार्ने गरी कुनै पनि कार्य गर्न छुट नभएको समेत बताए ।
त्यसैगरी पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कार्यक्रममा बोल्दै “नेपाली कांग्रेस कै कारण देश शान्ती प्रक्रियामा आएको हुँदा तत्कालिन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीको तर्फबाट शान्ति सम्झौतामा हस्ताक्षर गर्दाकै दिनदेखि मैले नेपाली कांग्रेसमा भोट हालिसकेको र कोइरालाले हँसिया हतौडामा भोट राखेको महशुस गरेको छु,” उनले भने गठबन्धन चुनावको लागि मात्र नभई राष्ट्र र संविधानको रक्षाको लागि दिर्घकालिन गठबन्धन गरेको बताए ।
अध्यक्ष प्रचण्डले संविधान कुल्चने, प्रतिगमन, निरंकुश, अन्धकार तर्फ राष्ट्रलाई लैजाने र अहंकारवादीहरुका विरुद्ध राष्ट्र बचाउन साझा संकल्पबाट गठबन्धन सरकार बनाएको जानकारी गराएका थिए ।
उक्त कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले अहिलेको गठबन्धन पवित्र बन्धन भएको हुँदा सम्पूर्ण नेपालीहरुलाई दुविधामा नपर्न र आशंका नगर्न जानकारी गराएका थिए । उनले राष्ट्र जोगाउनको लागि आफूले व्यक्तिगत स्वार्थ त्यागेर अगाडि आएको बताए ।
उक्त कार्यक्रममा पाँच दलिय गठबन्धन कार्यदलका संयोजक नेपाली कांग्र्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेपाल समाजवादी पार्टीका यामबहादुर थापा, राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिका कार्यकारी अध्यक्ष रश्मीराज नेपाली, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतले मन्तव्य राखेका थिए ।
नेकपा एकीकृत समाजवादीका गण्डकी प्रदेश ईन्चार्ज केशवलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशका अध्यक्ष गायत्री गुरुङले सञ्चालन गरेकी थिइन् ।