कास्की । नेपाली कांग्रेस कास्कीकी नेतृ सीता शर्मा गण्डकी प्रदेशसभा सदस्यका लागि सम्भावित वलियो उम्मेदवार रहेकी छिन् । पार्टीमा लामो समयदेखि योगदान पु¥याएकी शर्मा राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय महिला नेतृमा पर्छिन् ।
कांग्रेसको सबै तहबाट शर्माको नाम गण्डकी प्रदेशसभा सदस्यको लागि कास्की क्षेत्र नम्बर ३ (ख) समानुपातिकतर्फबाट सिफारिस भएको हो । कास्की कांग्रेसका अधिकांश नेताहरु अहिले राजधानी काठमाडौंमा छन् । उनीहरुले लोकतान्त्रिक आन्दोलनमा लामो समय योगदान गरेकी शर्मालाई यसपटक पार्टीले अवसर दिनुपर्नेमा कांग्रेस पदाधिकारी तथा शीर्ष नेताहरुसँग आग्रहसमेत गरेका छन् ।
२०४२ सालमा नेपाली कांग्रेस प्रतिबन्धित अवस्थनामा रहँदा सक्रिय राजनीतिमा प्रवेश गरेकी शर्मा सत्याग्रहको आन्दोलनका दौरान पक्राउ परेकी थिइन् । २०४६ सालको जनआन्दोलनमा पर्वत जिल्लाको कार्कीनेटामा आन्दोलन परिचालन कमिटीको महिला संयोजकका रुपमा शर्माले काम गरेकी थिइन् । २०४८ सालयताका सबै जसो निर्वाचनमा कांग्रेस जिताउन निर्वाचन परिचालनमा सक्रिय रहेकी शर्मा माओवादी सशस्त्र युद्धकी पीडितसमेत हुन् । २०५६ सालमा माओवादीले पर्वतमा सम्पत्ति कब्जाको घोषणा गरेपछि शर्माको परिवार विस्थापित हुन पुग्यो । शर्माका श्रीमान् चोमाकान्त शर्मा नेपाल शिक्षक संघ डोल्पाको अध्यक्ष थिए । २०५३ सालमा डोल्पाबाटै नेकपा माओवादीले उनलाई अपहरण गरी वेपत्ता बनाएको थियो । श्रीमान् वेपत्ता पारिएपछि पनि लोकतन्त्रप्रतिको प्रतिबद्धतामा नडगमगाई खटिएकी सीता अहिले नेपाली कांग्रेस कास्कीको निर्वाचित जिल्ला सदस्य हुन् ।
२०६२–६३ को लोकतान्त्रिक जनआन्दोलनका दौरान कास्कीमा पटक पटक पक्राउ परेकी शर्मा आसन्न प्रदेशसभा निर्वाचनमा पार्टीले अवसर दिए पार्टी हित र जनताको पक्षमा काम गर्ने बताउँछिन् । ‘लोकतान्त्रिक पार्टीमा लागेकै कारण आजसम्म धेरै संघर्ष गर्नुपर्यो । युद्धका क्रममा धेरै नै दुःख पाइयो । आजसम्म अवसरका लागि कुँदेको छैन । पार्टीले यसपटक न्याय गर्यो भने राम्रो काम गरेर देखाउँछु’, शर्माले भनिन् ।