पर्वत, ३१ भाद्र ।
मंसीर ४ गते हुन गईरहेको संघ र प्रदेशको निर्वाचनमा पर्वत जिल्लामा समेत चुनावी माहोल नेताहरुमा तात्दै गएको छ । कतिपय नेताहरुले अबको निर्वाचनमा आफू निर्विकल्प टिकट पाउने भन्दै आफूलाई सहयोग गर्न भन्दै हिडेको पाइएको छ ।
तर, पर्वत जिल्ला फलेवास नगरपालिकामा जन्मिएका एउटा यस्ता नेता छन्, जसले कुनै निर्वाचनमा प्रत्यक्षरुपमा सहभागी भएका छैनन्, उनले आफ्नो जिवन नै राजनीतिमा सम्पूर्ण त्याग गरेर अगाडि बढेका नेता हुन् ऋषिकेष तिवारी ।
व्यक्तिगत स्वार्थ त्यागेर पार्टीको लागि अगाडि बढ्न नेपाली कांग्रेस पर्वतका नेता ऋषिकेश तिवारीले सबै पार्टीका नेताहरुलाई सुझाव दिदै आएका छन् ।
१९ वर्षको कलिलो उमेरदेखि राजनीतिमा क्रियशिल रुपमा लागेका तिवारीले ३२ वर्षको उमेरमा विद्यार्थी आन्दोलनमा नेतृत्व दायी भूमिमा निर्वाह गरेका थिए । पञ्चायत शासनको धोर विरोधमा उत्रिएपछि उनले आफ्नो ज्यानको बाजी थाप्नु परेको थियो । “राष्ट्रको निम्ती बलिदान दिन पनि तयार छु तर पञ्चायतले देश र जनतालाई भलो गर्दैन” भन्दै हिडेको उनी बताउछन्, “मैले नयाँ जिवन पाएको हुँ, म मृत्युको मुखबाट फुत्केर आए, मलाई ज्यान मार्ने धम्की मात्रै आएन, मार्नको लागि धेरै प्रयास गरे तर भाग्यले बाँचे,” नेता तिवारी भन्छन् “राजनीतिमा भिजन भएको मान्छेको लागि पद आवश्यक हुन्छ, पद नहुँदा बोल्न सक्ला, लेख्न सक्ला तर राजनीतिको शक्ति प्रयोग गरेर काम गर्ने वातावरण नमिल्न सक्छ यो विपीको भनाई हो, त्यसैले काम गर्नको लागि उचित ठाउँमा सही व्यक्ति रहनुपर्छ।”
चुनावी मैदानमा उत्रिनुभन्दा पहिला नेताहरुले सर्बप्रथम आफूले आफूलाई हेर्ने, मुल्याङ्कन गर्ने त्यसपछि क्षमता, योगदान, योग्यता भएकालाई सँगै लिएर युवाहरु पनि साथमा राखी मर्यादा, सिद्धान्त, इमान्दारिता, विचार, आर्थिक र समाजिक रुपान्तरको लागि राजनीति गरेमा कुनै समस्या नहुने अनुभव आफूले प्राप्त गरेको उनले बताएका थिए।
२०६४ सालमा पार्टीले मनोनित गरेर छोटो समय सांसद बनेका नेता तिवारीले नेपाली कांगे्रेसको मुख्य सचिवको भूमिका निर्वाह गरी काम गर्ने अवसर समेत प्राप्त गरेका थिए। उक्त समयमा पार्टी र देशको लागी थप उचाईमा पु¥याउन उनको महत्वपूर्ण योगदान पु¥याएको शिर्ष नेताहरु बताउँछन्।
जनताको मतबाट निर्वाचित भएर आफ्नो क्षेत्रको विकास गर्ने मन भएपनि अवसर नपाएका तिवारी कहिल्यैपनि पार्टीप्रति गुनासो व्यक्त गरेका छैनन्। बरु व्यक्तिगत लोभ र लालचमा नफसी पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्दै आफ्नो सम्पूर्ण जिवन त्याग गरेका छन्।
करिब ४४ वर्षभन्दा बढी निरन्तर राजनीति र समाजसेवा गर्दै अगाडि बढेका तिवारीले समाजलाई आर्थिक, सामाजिक र अन्य तवरबाट अगाडि बढाउन कुनै कसुर बाँकी नराखी अगाडि बढेका छन् ।
“राजनीति गर्ने भनेको जनताको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासनव्यवस्थाको प्रणाली निर्धारण गर्ने, प्रशासन सँग सम्बन्धित सामाजिक सिद्धान्त बोकी काम गर्नु हो। तर पछिल्लो समय राजनीति गर्ने व्यक्तिले धन आर्जनको बाटो बनाउदा जनताले राजनिती भन्ने शब्द नै मन पराउन छाडेको अवस्था सृजना भएको छ,” उनले भने ।, धन कमाउने ईच्छा भए व्यापार व्यवसाय, उद्योग सञ्चालन गर्ने हो, राजनीति गरेर सोझा साझा जनतालाई लात हान्नु भनेको राजनीतिको खोल ओडेर जनतालाई भ्रममा पार्नु हो बुझ्नु पर्छ। राजनीतिमा लागेर पद नै पाउनु पर्छ भन्ने छैन, आफु जुन स्थानमा रहेको छ त्यहीबाट जनताको सेवा गर्ने हो,” उनले भने।
पर्वत जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट संघको प्रत्यक्षमा टिकट पाएमा चुनावी मैदान उत्रिन खोजेका नेता तिवारी निर्वाचनमा होमिएमा अन्य दललाई सकस पर्न सक्ने राजनीतिक विज्ञहरुले बताएका छन् ।