माछापुच्छ्रे , २७, भाद्र ।

माछापुच्छ्रे  गाउपालिकामा हुन गइरहेको माछापुच्छ्रे गाउपालिका अध्यक्ष कप–२०७९ को तयारी अन्तिम चरणमा पुगेको माछापुच्छ्रे भलिबल संघले जानकारी गराएको छ ।
भाद्र ३० गतेबाट सुरु हुन गइरहेको अध्यक्ष कपलाई सभ्य र भब्य रुपमा सफल बनाउनको लागि आयोजक टिमले तयारी पुरा गर्न लागेको माछापुच्छ्रे भलिबल संघका अध्यक्ष एवम् भलिबल राष्ट्रिय रेफ्री रामबहादुर पुनले जानकारी गराए। उनले गण्डकी प्रदेश भित्र रहेका ११ जिल्लाका ८५ पालिकालाई पत्राचार गरि खेलमा समावेश गराउन लागिएको जानकारी गराए । अध्यक्ष पुनका अनुसार पुरुष भलिबल खेलको लागि आवश्यक सामाग्री खरिद गरिनुका साथै बनाउनुपर्ने सामाग्रहीहरु समेत कामहरु करिब सम्पन्न भइसकेको बताएका छन् ।
पर्यटन प्रवद्धर्नको लागि खेलको माध्यमबाट माछापुच्छ्रे गाउपालिकालाई अगाडि ल्याउने योजनालाई सफल पार्नको लागि खेल सुरु गरिएको उनको भनाई रहेको छ । जसमा करिब २० हजार भन्दा बढी दर्शकहरु उपस्थित गराउने योजना रहेको समेत जानकारी गराएका थिए ।
माछापुच्छ्रे गाउपालिका पर्यटकीय हव भएपनि कोभिडका कारण आन्तरिक तथा बाह्य पर्यटकहरुको कमी भएको र अब त्यसलाई पहिलाको अवस्थामा ल्याउनको लागि स्थानीय उत्पादन समेत तिव्र पारिएको गाउपालिका अध्यक्ष मिनबहादुर गुरुङले बताए । स्थानीय तहमा उत्पादन भएका बस्तुहरुको पहिचान र व्यवसायिक रुपमा अगाडि बनाउनुका साथै पालिकालाई गण्डकी प्रदेशको उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउनको लागि खेलकुद महत्वपूर्ण भएको हुँदा त्यसको लागि आवश्यक सहयोग गरिएको उनको भनाई रहेको छ ।
अध्यक्ष कपलाई सफल बनाउनको लागि स्थानीय वासिन्दाहरुले आन्तरिक रुपमा तयारी गरेको माछापुच्छ्रे भलिबल संघका सचिव मोहन सिंह तामाङले जानकारी गराए । “हामीले खेल हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरु र खेल खेल्न आउने खेलाडीहरुलाई कुनै समस्या नहोस् भनेर विज्ञहरुसँग छलफल गरेर काम अगाडि बढाएका छौं, हामीले यो खेलको माध्यमबाट पालिकालाई खेलकुदको विकाश गर्नको लागि अहम भूमिका लिने अपेक्षा गरेका छौं”, उनले भने ।
खेलकुद संयोजक राम गुरुङका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुनेलाई नगद २ लाख, उपविजेतालाई १ लाख २० हजार र सेमिफाइनलमा उपविजेता २ टिमलाई ३०-३० हजार नगद शिल्ड, प्रमाणपत्र र मेडल प्रदान गरिने जानकारी गराए ।
त्यसैगरी विधागत पुरस्कार तर्फ उत्कृष्ट खेलाडीलाई नगद ७ हजार, अन्य उत्कृष्ट विधाहरुमा स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सर्भर, सेटर र उत्कृष्ट प्रशिक्षकलाई नगद रु ५ हजार र प्रमाणपत्रद्वारा सम्मान गरिने संयोजक गुरुङले बताए ।
६ हजार ९ सय ९३ मिटर उचाईमा रहेको माछापुच्छ्रे हिमाल, मार्दी हिमाल, मार्दी हिमाल पैदल मार्ग, माछापुच्छ्रे नमुना पैदलमार्ग, सामुदायिक होमस्टेहरु पर्यटकीय गन्तव्यको मुख्य विन्दु रहेका छन् । जसलाई आन्तरिक तथा बाह्यले अत्यन्तै रुचाइएको पाइन्छ । त्यसैगरी यस क्षेत्रमा पाइने बन्यजन्तु कालिज, डाँफे, झारल, घोरल, मृग, बाघ, भालुहरुलाई नजिकबाट नियाल्न पाइन्छ भने यार्सागुम्बा, सतुवा, निरमसी, पाँचऔले लगायतका जटिबुटिहरुको समेत हब क्षेत्र मानिन्छ ।
पर्यटकीय मात्रै नभएर उक्त स्थानमा बसोवास गर्ने स्थानीयहरुको आफ्नै पहिचान र संस्कृति तथा अर्गानिक खानाकोले पर्यटकलाई लोभ्याउने गर्दछ ।
न्युनतम शुल्मा खान, बस्नको सुविधाजनक होटल तथा होमस्टेहरुले पर्यटकको खर्च कम गर्ने गर्दछ भने उनिहरुलाई आनन्ददायी वातावरण नै यस क्षेत्रको गहना मान्न सकिन्छ ।
पर्यटकहरुको चाहनाअनुसार पैदल यात्रा देखि सवारी साधन जानसक्ने बाटो र हेलिकप्टरको समेत सुविधाजनक क्षेत्र पर्दछ ।