भाद्र २४, पोखरा ।
नेपाल काँग्रेस गण्डकी प्रदेशद्वारा विपी जयन्तीको अवसरमा सूचना सञ्चार तथा प्रचार–प्रसार विभाग अन्तर्गतको सूचना प्रविधि कक्षको उद्घाटन भएको छ ।
नेपाली कांग्रेस गण्डकी प्रदेशको कार्यालयमा स्थापना गरिएको विभागमा शुक्रबार नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मनिटर अन गरेर कक्षको उद्घाटन गरेका थिए।
उद्घाटन कार्यक्रममा बोल्दै शर्माले गण्डकी प्रदेश कार्यालयलाई समय सापेक्ष अगाडि बढाउँदै लाने प्रयास गरिएको बताए । उनले प्रदेशका गतिविधिलाई प्रदेश कार्यालयबाट नै सूचना सम्प्रेषण गर्ने, साइवर सुरक्षा गर्ने जस्ता काम विभागले गर्ने जानकारी गराएका थिए ।
सामाजिक सञ्जालमा प्रदेशका गतिविधि समेत प्रभावकारी बनाउने उद्देश्य सहित स्थापना गरिएको बताउँदै आगामी दिनमा केन्द्रीय नीति “जनताको साथमा नेपाली कांग्रेस”लाई सहयोग पुग्ने अपेक्षा व्यक्त गरेका थिए।
जनताको भावनालाई आत्मसात गर्दै अगाडि बढ्न नेपाली कांग्रेस स्थापना कालदेखि नै काम गर्दै आएको बताउँदै आगामी दिनमा समय अनुसार प्रदेशले आफ्ना गतिविधि सार्वजानिक गर्ने नयाँ प्रविधि प्रयोग गरेको सभापति शर्माले बताएका थिए ।
त्यसैगरी सूचना, सञ्चार तथा प्रचार–प्रसार विभागका प्रमुख रमेश पौडेले विभागको बारेमा जानकारी गराएका थिए भने उपप्रमुख शिरोमणी बरालले सञ्चार क्षेत्रबाट नै जनमत सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने तथा नेपाली काँग्रेसका गतिविधि जनतामा पुर्‍याउनको लागि विभागले काम गर्ने, आगामी दिनमा आवश्यकअनुसार सेवाहरु थप गर्ने जानकारी गराए ।
उक्त कार्यक्रममा विभागका सदस्य सचिव राजबहादुर गुरुङले छोटो समयमा नै सबैको सहयोगबाट प्रदेशमा नै पहिलोपटक सूचना विभाग स्थापना भएकोमा सहयोगी सबैलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा प्रदेश गतिविधि तथा सूचनालाई चाँडो भन्दा चाँडो जनतामा पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे।
नेपाली कांग्रेस गण्डकी प्रदेशले स्थापना गरेको करिब ३० लाख रुपैयाँको अक्षयकोषमा प्रदेश सभापति शुक्रराज शर्माले २५ हजार नगद हस्तान्तरण गर्दै पुरस्कारको थालनी गरेका छन् भने वीपी संग्राहलयका संस्थापक अध्यक्ष परशुराम पोखरेलले १ लाख सहयोग गर्ने बचनबद्धता व्यक्त गरेका थिए। उक्त अक्षयकोषबाट गण्डकी प्रदेशका ११ जिल्लाका ११ जना उत्कृष्ट व्यक्तिलाई प्रत्येक वर्ष नगद २५ हजार र दोसल्ला सहित सम्मान गर्र्ने लक्ष्य लिएको गण्डकी प्रदेशका प्रवत्ता माधव प्रसाद बाँस्तोला (मधु)ले जानकारी गराए ।
उक्त कार्यक्रममा उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय किरणबावु श्रेष्ठ, विष्णु लामिछाने, कास्की जिल्ला सभापति किशोर बराल, पूर्व सभापति कृष्ण केसी, वीपी संग्राहलयका संस्थापक अध्यक्ष परशुराम पोखरेल, नेता देवराज चालिसे, प्राध्यापक डा. कुशुमाकर न्यौपानेले शुभकामना व्यक्त गर्नुका साथै विभाग सदस्य तथा आइटी प्रमुख पदम श्रेष्ठ, ई.पारस रेग्मी, ई.सगुन भट्टराईलगायतले नेपाली कांग्रेस गण्डकी प्रदेशको बनेको सफ्टवयरको वारेमा जानकारी गराएका थिए।