भदौं १३, दमौली ।
यही भाद्र १० गतेदेखि शुरु जनताको साथमा कांग्रेस अभियान अन्तर्गत गण्डकी प्रदेशबाट तनहुँका लागि खटिएको टोली आइतबार तनहुँ आएको छ । नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता एवं तनहुँ जिल्लाका लागि प्रदेश प्रतिनिधि माधव प्रसाद वास्तोला ‘मधु’ नेतृत्वको टोली तनहुँ आएको हो ।
प्रवक्ता वास्तोला सहित तनहुँ क्षेत्र नम्बर १ ‘ख’का खटाइएका प्रतिनिधि गण्डकी प्रदेश प्रचार विभागका सहसंयोजक शिरोमणी बराल, प्रदेशका प्रचार विभागका सदस्य(सचिव राजबहादुर गुरुङ र तनहँु क्षेत्र नम्बर १ ‘क’ लागि प्रदेश प्रतिनिधि विरेन्द्र प्रसाद मण्डलसहितको चार जनाको टोलीले विपी स्मृति भवनमा अभियान सफल बनाउने सन्दर्भमा छलफल तथा अन्तरक्रिया गरेको छ ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा कांग्रेसलाई विजयी गराउने अभियानका चार उद्देश्यका सन्दर्भमा छलफल गरी राय सुझाव संकलन गरिएको प्रदेश प्रतिनिधि बास्तोलाले जानकारी दिए । टोलीले तनहुँमा पार्टीको सांगठनिक अवस्था सहित आगामी निर्वाचन लगायतका विषयमा प्रारम्भिक जानकारी लिएको बास्तोलाले बताए ।
नेपाली कांग्रेस तनहुँका जिल्ला सभापति जितप्रसाद आलेले नेपाली कांग्रेसको जीत सुनिश्चित रहेको भएपनि आवश्यक तयारीको लागि तिव्र पार्नुपर्ने जानकारी गराएका थिए। “हामी हाम्रो काम, कर्तव्य र निष्ठाबाट जनताको विश्वास जितेका छौं, तरपनि उनिहरुलाई व्यक्तिगत लोभ लालचामा फसाउन खोज्ने अवस्था आउन सक्छ त्यसलाई चिरेर समग्र देश विकासको लागि नेपाली कांग्रेस आवश्यक छ भन्ने कुरा बुझाएर अगाडि बढ्नुपर्ने देखिएको छ” उनले भने ।
टोलीले जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, सचिव लक्ष्मीभक्त खनाल, क्षेत्रीय सभापति श्याम मौरती, क्षेत्र नम्बर १ ‘ख’का सभापति काजीमान श्रेष्ठ लगायतसँग भेटघाट एवं छलफल गरेको थियो । छलफलका क्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्माले पार्टी बलियो बनाएर एकताबद्ध भई चुनावमा जानुपर्नेमा जोड दिएका थिए ।
त्यस्तै पार्टी उपसभापति देवकुमार श्रेष्ठले आन्तरिक समस्या निराकरण गरी चुनावमा गए कांग्रेसलाई कसैले हराउन नसक्ने बताएका थिए । त्यसैगरी संविधान सभा सदस्य रामचन्द्र पोखरेलले जनताको भावना अनुसारको रुपान्तरण र विकास परियोजना अगाडि ल्याउनुपर्ने बताएका थिए । छलफलमा गण्डकी प्रदेश सभा सदस्य सरीता गुरुङ, जिल्ला समनवय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, महाधिवेशन प्रतिनिधि अशोककुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि एवं महिला संघ सभापति पवित्रा पौडेल, नेका गण्डकी प्रदेश सदस्य पवित्रा गौली लगायतको सहभागिता रहेको थियो ।
प्रदेशबाट तनहुँ १ ‘ख’का लागि खटिएका शिरोमणी बराल र राजबहादुर गुरुङले जनतासँग कांग्रेस अभियानको क्रममा कांग्रेसले लिएको नीति, कांग्रेस नेतृत्वमा विगतमा हासिल राजनैतिक र आर्थिक उपलब्धि एवं समसामयिक विषयमा कांग्रेसले लिएका अडानबारे जनतालाई सुसूचित गर्ने र गराउने पक्षमा माहोल गराउन सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।