पोखरा, ११ भदौ ः नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेपाली काँग्रेसको नेतृत्वमा भएका काम बारे जनतालाई सुसुचित गर्नुपर्ने बताए।
नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको कार्यालयमा आज आयोजित कार्यक्रममा काँग्रेसको नेतृत्वमा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा धेरै कामहरू भएपनि ती विषयलाई जनता माझ पु¥याउन नसकिएको उनले भने ।
गण्डकी प्रदेशको समग्र विकासको खाका सहित काँग्रेस गण्डकी प्रदेशले अघि सारेको अवधारणापत्र अन्य प्रदेशका लागि पनि अनुकरणीय हुने उनको भनाई रहेको थियो ।
दलहरूबीचको गठबन्धनलाई योजना र कार्यक्रमसँग जोड्नुपर्नेमा उनले जोड दिए ।
नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले देशको समग्र विकासका लागि काँग्रेसको नेतृत्व आवश्यक भएको बताउँदै यसका लागि नेता तथा कार्यकर्ता सकृय बन्नुपर्ने बताए ।
काँग्रेस गण्डकी प्रदेशले अवधारणापत्र सहित प्रदेशको समृद्धि र विकासका योजना अघि सारेको बताउँदै ती संकल्पलाई पूरा गर्नका लागि निर्वाचनमा विजयी बन्नुपर्ने उल्लेख गरे ।
कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु), सुचना सञ्चार तथा प्रचार प्रसार विभाग उपप्रमुख शिरोमणि बराल, सदस्य सचिव राजबहादुर गुरुङ, मुख्य सचिव प्रकाश बराल लगायतको उपस्थिति रहेको थियो ।