पोखरा, ७ भदौ
भनिन्छ, विहानीको संकेतले दिनको अवस्था बताउछ भने झै, एउटा सोंचले सिंगो राष्ट्र परिवर्तन हुन्छ । जनप्रतिनिधिहरुले ठूला ठूला आशा र भरोसा दिलाएर चुनावमा होमिन्छन् जित्छन् पनि । तर बाचाहरु एकाएक विर्सन्छन् र जनताकै कसिंगर बनेका धेरै उदाहरणहरु छन् तर शुक्लागण्डकी नगरपालिका, तनहूको सेवाले जो कोहीको मनलाई पनि तान्छ। तपाई आफ्नो कामको लागि जानुहोस् त्यहाँको सम्मान र मायाले तपाईलाई अचम्मित बनाउछ।
सेवा लिन जाँदा तपाईका कागजातहरु ठिक छन् कि छैनन जाँच गर्दा तपाई कुर्नुपरेमा चिया, चिसो तातो, वा पानी के लिने तपाई बसेकै ठाउँमा ल्याइदिन्छन् कर्मचारीहरुले। अनि तपाईका समस्या, गनासा तथा कामको प्रकृति अनुसार एकैठाउँबाट सेवा दिइन्छ । सामान्य वा जटिल कामको लागि घण्टांै बस्नुपर्ने लाइन बस्नुपर्दैैन, तपाईको काम सुरु भएपछि कर्मचारीहरु आफै खटिन्छन्।
शुक्लागण्डकी नगरपालिका तनहुको सेवाबाट नगरवासीहरु खुसी रहेको बताएका छन्। नगरको एकद्वार प्रणालीबाट गरिएको सेवाले आफ्नो काममा सहज हुँदा खुसी तुल्याएको नगरवासीहरुको भनाई रहेको छ।


घुम्ती शिविरमा काम गरे जस्तै देखिने सेवा प्रवाह केन्द्रमा पालिकाका कर्मचारीहरु लामबद्ध भए आफ्नो डेक्समा बसेको देख्न सकिन्छ । सुरुमा फाइल बुझाउने डेक्समा सेवा प्रवाह सञ्चालन अधिकृतले हेर्ने गर्छन। त्यसमा सामान्य अपुग डकुमेन्ट कार्यालयबाट नै निशुल्क सहयोग गर्ने गरिन्छ । तर वडावाट चाहिने सिफारिस जस्ता कागजात नभएमा सम्बन्धित निकायमा जानको लागि सल्लाह सुझाव दिने गरिन्छ । फाइल पुरा भएमा दर्ता चलानी गरि काम अगाडि बढाइन्छ ।
जेठ महिनाबाट नयाँ तरिकाबाट सुरु गरिएको यो सेवाबाट कर्मचारीहरुले पनि काम गर्न सजिलो भएको बताएका छन् । भने काम छिटो, छरितो र पारदर्शिता ढंगबाट काम हुँदा धेरै खुसी भएको स्थानीयवासी शिव पौडेलले बताए, “हामीले खोजेजस्तो रोजेजस्तो नगरप्रमुख पाएका छौं, नगरप्रमुख पण्डित कुरामा भन्दा पनि बढी काम गर्ने गर्नुहुन्छ। विहानैदेखि अन्तिम समयसम्म पनि सेवाग्राहीको सेवा खटिएको पाउँदा खुसी भएका छौं” उनले भने।
एउटै कोठामा करिब १० वटा डेक्स राखी काम गरिएको नगरप्रमुख कृष्णराज पण्डितले जानकारी गराए । सेवालाई पारदर्शिता र छिटो छरितोका लागि आफूले नयाँ सोचका साथ काम गरेको उनले बताए, “हामीले भ्रष्टचार न्युनिकरण, पारदर्शिता र सेवाग्राहीको छिटो छरितोको लागि डेक्स सेवा सुरु गरेका छौं। विहान १० बजेबाट दिनको ५ बजेसम्म सेवाग्राहीहरुको लागि काम गर्दै आएका छौं, कुनै सेवा प्रवाह गर्न नसकेमा सम्बन्धित शाखाले १० मिनेट भित्र लिखित जवाफ दिनुपर्ने हुन्छ । र त्यसको लागि नगरप्रमुख, उपप्रमुख, कार्यकारी अधिकृतले समस्याको तत्काल समाधान गर्ने गरि काम गर्दै आइएको छ” ।
नगर प्रमुख पण्डितले आफुलाई राज्यले दिएको तलब, भत्ताको सबै रकमलाई कोष खडा गरेर विपन्न बर्ग र समुदायका लागि खर्च गर्ने गरि काम गरेको जानकारी गराए। उनले भने, “राजनीति भनेको सामाजिक सेवा हो यसलाई व्यापार, व्यवसाय र जागिर बनाउनुहुँदैन, म ५ वर्ष सेवा गर्छु भनेर आएको हुँ मैले जति सक्छु सेवा गर्छु मैले केही लिन्न भनेर प्रण गरेको छु, आशा छ मैले १२ वटा वडामा रहेका करिब ६० हजार जनताको मनका दुःख र सुखको सारथी भएर काम गर्छु।”

गण्डकी प्रवत्ता बास्तोलाको स्थलगत अवलोकन


नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिका प्रवक्ता माधवप्रसाद बास्तोला(मधु) नेतृत्वको टोलीले सोमबार तनहुको शुक्लागण्डकी नगरपालिका कार्यालयको स्थलगत अवलोकन गरेको छ ।
बास्तोला सहित नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिका सदस्य एवम् प्रचार विभागका उपप्रमुख शिरोमणि बराल, सदस्य सचिव राजबहादुर गुरुङ, सदस्य पदम श्रेष्ठ लगायतको टोलीले अवलोकन गरेको हो ।
नगरपालिकाका प्रमुख कृष्ण राज पण्डितसँग भैरहेका सेवा प्रवाह, आसन्न निर्वाचन लगायतका विषयमा छलफल गर्नुका साथै पालिकाका सेवाग्राहीहरुको लागि कसरी काम गर्दा अझ सजिलो र सहज हुने विषयमा प्रवत्ता बास्तोलाले नगरप्रमुख पण्डितलाई बताएका थिए। उनले जनताको सेवा गर्नको लागि आउँदा आफ्ना व्यक्तिगत स्वार्थ त्यागेर जनमैत्रीरुपमा काम गरेमा मात्रै जनताको मनमा बस्न सकिने जानकारी गराएका थिए। उनले नगरबाट प्रवाह गरिने सेवाको ढाँचा मन परेको बताउँदै अन्य पालिकाले पनि अवलम्बन गर्दा राम्रो हुने प्रवत्ता बास्तोलाले बताए।
भेटघाटमा नगरपालिकाले एकद्वार प्रणालीबाट दिदै आएको सेवा प्रवाह सम्बन्धमा पनि छलफल गरिएको प्रचारप्रसार उपप्रमुख शिरोमणि बरालले जानकारी दिए । आफुले सुनेको भन्दा पनि राम्रो तरिकाले सेवा प्रवाह भएको पाउँदा खुसी भएको उपप्रमुख बरालले बताए ।