बृत्ति परामर्श तथा रोजगार मेला २०७९ लाई सफलतापूर्वक सम्पन्नको लागि शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक मन्त्री मेखलाल श्रेष्ठ आफै खटिएका छन् ।
मेलामा सहभागीहरुलाई मेलाको आयोजनाको मुख्य कारण र भावी दिनमा यसको प्रभावका बारेमा बुझाउदै मन्त्री श्रेष्ठ सहभागीहरुको विचमा पुगेका छन् । उनले मेलामा १ हजार जना सहभागी गराउने उद्देश्य भएपनि ३ गुणा भन्दा बढी पहिलो दिनमा नै आएपछि श्रेष्ठ सहभागीहरुको विचमा बसेर उद्देश्य माथि प्रकाश पारेका थिए।
श्रेष्ठले गण्डकी प्रदेशमा दक्ष जनशक्तिको प्रदेश बनाउनको लागि आफुले पहिलो कदम चालेको बताउँदै आगामी दिनमा यस मेलाले कोशेढुंगाको काम गर्ने बताए।
शनिबार विहानै देखि सहभागी व्यवस्थापन गर्न खटिएका मन्त्री श्रेष्ठले रोजगार मेलालाई उत्कृष्ट बनाउनको लागि मेलामा राखिएका स्टलहरुमा आफ्ना उद्देश्यहरु प्रष्ट पार्न अनुरोध गरेका थिए। साथै, उनले मेला पहिलो चोटी भएको र यसले बेरोजगार श्रमिकलाई दक्ष श्रमिक बनाउने र रोजगारदताले पनि दक्ष श्रमिक पाउनको लागि मेलाले पुलको काम गर्ने जानकारी गराए।
उनले विद्यार्थी तथा उपस्थित सहभागीहरुलाई आफूले जानेको सीप, काम गर्न चाहेको र आवश्यक तलव सुविधा तथा काम गर्न नजानेकाले सीप सिक्न चाहेको विषयको वारेमा जानकारी गराउने र रोजगारको लागि प्रदेश सरकारले सहयोग गर्ने विषयमा जानकारी गराए। उनले मन्त्रालयको सहयोगमा तालिम तथा रोजगार व्यवस्थापन सूचना प्रणाली एपको सञ्चालन भइसकेको हुँदा सीप मूलक तालिम लिन चाहने, रोजगारीको खोजीमा भएका, सीप परिक्षण गर्न चाहने र रोजगारदाताको आफ्नो आवश्यकता अनुसार सहयोग गर्नेछौं, भने ।
शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा पहिलो दिन करिब ३ हजार जनाको सहभागी रहेको थियो भने दोस्रो दिनसम्ममा करिब ५ हजार जना सहभागी भएको मेला सहभागीहरुले आफूले भावी दिनमा स्वदेश मा नै रोजगारको लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
गण्डकी प्रदेशलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सञ्चालन गरिएको मेलामा अधिकांश एसइई र ं२ का विद्यार्थीहरु अवलोकन गरेको पाइएको छ ।
एनभिक्युएस र स्विस कन्ट्याकको प्राविधिक सहयोगमा भएको मेला पोखरा महानगरपालिका, सिटिइभिटि गण्डकी, गण्डकी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान, एफएनसिसिआइ, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, राइटफर चिल्डेन, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल चेम्बरको सहकार्यमा साउन ६ गतेबाट सुरु भएको कार्यक्रम साउन ८ गते आइतबार सम्म हुनेछ।