नेपालमै पहिलाेपटक वृत्ति परामर्श तथा रोजगार मेला आयोजना हुने भएको छ ।  शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय, गण्डकी प्रदेशको आयोजनामा साउन ६ देख़ि ८ गतेसम्म पोखरामा हुन लागेकाे हाे।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले मेला बारे जानकारी दिने उद्देश्यसहित मंगलवार आयोजित पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी दिएका छन् ।

प्राविधिक शिक्षा तथा व्यवसायीक तालिमका विषयमा विद्यार्थी एवं सरोकारवालाका लागि जानकारी सहितको परामर्श प्रदान गर्नु, बेरोजगारका लागि रोजगारीको अवसर र रोजगारदाताका लागि कामदारको उपलब्धताकालागि साझा थलोको रुपमा विकास गरी रोजगार विनिमय प्रणाली विकास गर्नु नै यस मेलाको प्रमुख उद्देश्यरहेको मन्त्री श्रेष्ठले जानकारी दिए ।

मेलाको उद्देश्य बारे जानकारी दिदै मन्त्री श्रेष्ठले भने, “सरोकारवालाको आवश्यकताका आधारमा आवश्यक पर्ने जनशक्तिहरुको उत्पादन र विकास गरी प्रदेशका लागि आवश्यक पर्ने मानव संशाधन पूरा गर्नुपनि रहेकोछ ।”

मेलामा प्रदेशस्तरीय ठूला उद्योगी, व्यवसायी र रोजगारदाताहरु, घरेलु तथा साना उद्योगीहरु, पेशा एवं व्यवसायसंग सम्बन्धित आधिकारीक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले बैङ्क तथा वित्तियसंस्थाहरुले रोजगारीका अवसरका बारेमा जानकारी दिनुका साथै रोजगारीका लागि सहजीकरण गर्ने भएकाछन् ।

त्यस्तै प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम प्रदायक शैक्षिक संस्थाहरु, प्राविधिक धारमा संचालित विद्यालयहरु, ईन्स्योर परियोजनाको सहयोगी संस्था अन्तरङ्ग र अन्य संघ संस्थामा आवद्धविज्ञहरुबाट वृत्तिविकासका बारेमा अवलोकनकर्ताहरुलाई विस्तृत परामर्श सेवा प्रदान गर्ने व्यवस्था समेत उक्त मेलामा मिलाइएको छ ।

प्रदेशमा कस्ता दक्ष जनशक्तिहरुको आवश्यकता छन्, कस्ता जनशक्तिहरु बेरोजगार छन् र कस्ता रोजगारदाताहरुले आफ्नो व्यवसाय संचालन गर्नको लागि दक्ष, अ–दक्ष र अर्धदक्ष जनशक्तिहरु नपाएका कारणले व्यवसाय संचालन गर्नेहरुले भोगी राखेका कठिनाईलाई नै ध्यानमा राखेर यी सबैको सहजीकरणको निम्ति नै यस मेलाको आयोजना गर्न लागेको बताए ।

मन्त्री श्रेष्ठले सबैभन्दा महत्वपूर्ण विषय भनेको गण्डकी प्रदेशमा सक्षम नागरिकहरु उत्पादन गर्नुपर्ने भएको र उत्पादित नागरिकहरुलाई बजारमा व्यवसायकरण गर्नको लागि बजारमा उद्योगधन्दाहरुमा आवश्यक पर्ने जनशक्तिहरुलाई कसरी उत्पादन गरेर सबै पक्षलाई कसरी सहजीकरण गर्न सकिन्छ र जस्ले जागिरखोजिरहेका छन् उनीहरुलाई जागिर गर्नका लागि माध्यम बनिदिने, जसलाई श्रमशक्ति आवश्यक परेको छ, त्यो श्रमशक्तिलाई पनि रोजगारदातासंग मिलाईदिने किसिमको वातावरण सृजना गर्ने नै मुख्य उद्देश्य भएको बताएका छन् ।

मेलामा प्राविधिक शिक्षा तथा व्यवसायीक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण, विभिन्न रोजगारीका अवसरहरुको बारेमा जानकारी साथै सहजीकरण, तालिम तथा रोजगार व्यवस्थापन सूचनाप्रणाली एप्स् टिइएमआइएस प्रयोग सम्बन्धमा सहजीकरण, राष्ट्रिय व्यवसायीक योग्यता प्रणाली र पूर्वसिकाई मान्यताविधिका साथै वृत्ति परामर्श लगायतका स्टलहरु राख्ने व्यवस्था पनि मिलाईएको बताएका छन् ।

मेला अवधिभर सहभागीहरुले रोजगारीका सम्भावित क्षेत्रहरुका बारेमा जानकारी हासिल गर्नेछन् भने प्राविधिक शिक्षा र व्यवसायीक सीप हासिल गर्न चाहने विद्यार्थी र उनीहरुका अभिभावकका लागि यसै प्रदेशका प्राविधिक शिक्षा अध्ययन गर्न सकिने र अध्ययनका लागि अवलम्बन गर्नुपर्ने प्रक्रिया सम्बन्धमा जानकारी समेतप्राप्त गर्न सक्ने भएका छन् ।

मेलालाई सफल र परिणाममुखी बनाउन नेपाल सरकार र स्वीस सरकारको द्धिपक्षीय सहयोगमा संचालित नेपाल व्यवसायीक योग्यता प्रणाली परियोजनाको प्राविधिक सहयोग तथा गण्डकी प्राविधिक शिक्षा एवं व्यवसायीक तालिम प्रतिष्ठान, प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् गण्डकी प्रदेश कार्यालय, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ, लोखनाथ उद्योग वाणिज्य संघ, नेपाल घरेलु तथा साना उद्योग महासंघ गण्डकी प्रदेश, रोजगारदाताहरु, राईट फर चिल्डेन समेतको सहकार्य रहेको छ ।

शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम र पुर्व ज्ञानको मान्यतामा आधारित सिकाइको बारेमा जानकारी प्रदान गर्न मेलाको आयोजना गर्न लागेको जानकारी दिए । उनका अनुसार यस वृत्ति परामर्श तथा रोजगार मेलामा विभिन्न उमेर समूहका गरी १० हजार भन्दा बढी मानिसहरुले अवलोकन गर्ने अपेक्षा गरेको छ ।

सिटिइभिटि गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले रोज़गार मेला सान्दर्भिक रहेको बताउदै रोजगारको खोजीमा दक्ष जनशक्ति पलायन हुने क्रम बढ़ेको उद्योग/व्यवसाय लगायतका क्षेत्र जनशक्तिको अभाव भोग्नु परिरहेको अवस्थामा आयोजना गर्न लागिएको रोजगार मेलाबाट एकातर्फ रोजगारदातालाई आफ्नो आवश्यकता अनुसारको जनशक्ति उपलब्ध हुनेछ भने अर्कातर्फ रोजगारीकै खोजीमा बिदेसिनु पर्ने बाध्यताको अन्त्य गर्न केही हदसम्म मद्दत पुग्नेमा विश्वस्त रहेको बताए ।

मन्त्रालयका उपसचिव तोयानाथ लम्सालले संचालन गरेको कार्यक्रममा नेपाल उधोग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष संजीवबहादुर कोईराला, लेखनाथ उधोग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, पोखरा उधोग वाणिज्य संघका उपाध्यक्ष अर्जुन पोखरेल लगाएत सरोकारवाला निकायका प्रतिनिधिको उल्लेख्य सहभागिता रहेको थियो ।