पोखरा–१० रामघाटमा रहेको स्टार डायग्नोष्टिक सेन्टर प्रा.लि. दोस्रो वर्षमा प्रवेश गरेको छ ।
आफ्नो वार्षिकोत्सवको अवसरमा प्रा.लि.ले आइतबार पाठेघरको क्यान्सर सम्बन्धी परामर्श तथा सचेतना कार्यक्रम गर्नुका साथै साउन महिना भरी थाइराइड, भिटाभिन डि र भिटामिन वि १२ मा ५० प्रतिशत र प्रयोगशाला सम्बन्धी रगत जाँचमा ४० प्रतिशत छुटको व्यवस्था गरेको छ । सेन्टरले १ वर्षको अवधिमा १० वटा स्वास्थ्यसम्वन्धी सचेतनामूलक कार्यक्रम तथा क्याम्पियन गरिसकेको छ ।
छोटो समयमानै एउटा छुट्टै पहिचान कमाउन सफल सेन्टरले अटोमेटिक तथा मेनुअल मेशिन गरी करिब २ करोड भन्दा बढी लगानीमा रगत जाच्ने ल्याब सुरु गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कार्यक्रममा बोल्दै स्वास्थ्य सबैभन्दा ठूलो धन भएकोले कम्तिमा वर्षको एकपटक आफ्नो जन्मोत्सवमा स्वास्थ्य जाँच गर्नको लागि सम्पूर्ण नागरिकमा अपिल गरेकी थिइन्।
मानविय जीवनको संवेदनशिल स्वास्थ्य क्षेत्र रहेको हुँदा व्यवसाय गरेपनि व्यवसायी भन्दा सेवामा काम गर्नु अहिलेको आवश्यक रहेकोले मित्थ्या सूचना, विज्ञापनलाई महत्वपूर्ण नदिई आफूले जस्तो सेवा दिने हो त्यसैमा रहेर सत्य सूचना प्रवाह गर्न आग्रह गरिन्।
त्यसैगरी स्वास्थ्य र सञ्चार क्षेत्र कोभिडको बेलामा फ्रन्ट लाइनमा रहेर काम गरेको हुँदा दुवैपक्ष समन्वय गरेर अगाडि बढ्नुपर्ने अध्यक्ष भण्डारीले बताउँदै, स्वास्थ्य क्षेत्रमा निजी लगानीले समाजका लागि ठुलो सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । “स्वास्थ्य क्षेत्रमा राज्यको मात्र मुख नताकीकन निजी स्तरबाट गरिएका लगानीले पनि आम जनसमूदायको स्वास्थ्य सेवामा ठुलो योगदान पुगेको छ ।”
स्थापना देखि हालसम्म १५ हजार भन्दा बढीले उक्त सेन्टरबाट सेवा लिइसकेको स्टार डायग्नोष्टिक सेन्टर प्रा.लि.का अध्यक्ष अर्जुन ज्ञवालीले बताए।
उनले भने, हामीले पोखरामा नै गुणस्तरीय सेवा दिने उद्देश्यका साथ स्थापना गरेको हुँदा छोटो समयमा नै पोखरेलीहरुको मन जितेको र स्टारलाई स्टार बनाइ राख्नको लागि सम्पूर्ण टिम लागेको हुँदा आगमी दिनमा अझ थप सुविधाका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यसैगरी दोस्रो चरणको कार्यक्रममा गण्डकी हस्पिटलका प्रयोगशाला प्रमुख डा.लक्ष्मण बास्तोलाले परामर्श दिएका थिए । उनले रोग लाग्नुभन्दा पहिल्यै कसरी सचेत हुने साथै रोग लागिहाले पनि यसको लक्षण, समस्या तथा समाधानका उपायहरु लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।
रामघाट आमा समूहका अध्यक्ष दुर्गा के.सी.ले महिलाको लागि आवश्यक पर्ने सचेतना कार्यक्रम भएकोले उपयोगी भएको बताईन् । स्टार डायग्नोष्टिक सेन्टर प्रा.लि.सल्लाहाकार प्रा.डा.विष्णुराज तिवारीले महिलामा हुने पाठेघरको क्यान्सरबाट कसरी बच्ने लगायत महिला लक्षित कार्यक्रम भएकोले सचेतना कार्यक्रम प्रभावकारी भएको बताए । संस्थाका सञ्चालक सदस्य महेन्द्र के.सी.ले आफूहरु गुणस्तरिय सेवामा तल्लिन रहने प्रतिवद्वता जनाए ।
परामर्श तथा सचेतना कार्यक्रममा रामघाट आमा समूहका महिलाहरु लगायत अन्य महिलाहरु गरि करिव एक सय जनाको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रममा उपस्थित पत्रकारहरुको होलवडी (रगत) जाँच निःशुल्क गरिएको थियो।
सेन्टरका अध्यक्ष अर्जुन ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत प्रयोगशाला इन्चार्ज तथा संस्थाका सञ्चालक समितिका सदस्य सुनिता लम्साल र सञ्चालन सेयर सदस्य नेत्र ढकालले गरेका थिए ।