पोखरा, १६।
नेपाली कांगे्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पोखरा–२५ हेमजामा गएको पहिरोको अवलोकन गरेका छन्।
उनले बाढी पहिरोको कारणबाट अति समस्यामा परेका ४ परिवारलाई तत्काल राहत व्यवस्थापन गर्नको लागि स्थानीय सरकार र प्रदेश सरकारलाई आग्रह गर्नुका साथै जिल्ला प्रशासन कार्यालयलाई पीडित परिवारको दु:खमा मलम लगाउनको लागि आवश्यक सहयोग गर्नको लागि अनुरोध गरेका छन्।
असार १० गते शुक्रबार वेलुका करिब ९ बजेको समयमा भीषण पानी र सुइखेतबाट आएको पहिरोमा परि ४ परिवारको घरवास विहीन भएको र करिब १ सय ५० भन्दा बढी घरधुरी डुवानमा परेका थिए। उक्त समस्यामा परेका घरपरिवारको लागि आवश्यक सहयोगको लागि आफूले सक्दो सहयोग गर्ने शर्माले बताएका थिए।


“नेपाली कांग्रेस गण्डकी प्रदेशले समस्यालाई नजिकबाट नियालेको छ, यसको तत्काल समस्या र दीर्घकालिन समस्या समाधानको लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्छ, स्थानीय सरकारले तुरुन्त कार्यक्रम बनाएर प्रदेश कार्यालय सम्पर्क गनुृहोस्, हामी पूर्ण रुपमा सहयोग गछौं”, उनले भने, “समस्या जटिल छ, मानवीय घटना नभएर मात्रै हो, प्रकृतिको ताण्डव नृत्य जस्तै पहिरो ठूलो र भयङ्कर छ, यसको समाधान दीर्घकालीन बनाउनुपर्छ”
स्थानीय भन्दा पनि बाहिर जिल्लाबाट भर्खरै बसाइसरेका घरहरुमा बढी क्षति भएको देखिएका र उनिहरुका गुनासा भन्ने ठाउ नपाएको बुझिएको छ, बर्खाको समयमा अत्याधिक पानी पर्दा कुलो भत्किनु र मध्य पहाडी लेकमार्ग (हाइवे) पानी निकासको लागि बाटो नहुनु, अव्यवस्थित बस्ती विकास तथा जबरजस्ती डोजर प्रयोग गरी बनाइएका प्लटिङको कारण अधिकांश बस्तिहरु डुवानमा परेको जानकारी गराए। दीर्घकालिन समस्या समाधानको लागि उक्त ठाउँको हाइड्रोलोजीको उचित अध्ययन गर्दै सो को आधारमा आवश्यक पर्ने नालाको प्रबन्ध गर्नुपर्ने, चौरासी नहरालाई पुन निर्माण गरी व्यवस्थित नहर बनाउनुपर्ने, करिब ६ मिटर चौडा बैकल्पिक बाटो बनाउने, पहिरोको जोखिम क्षेत्रमा वायो इन्जिनियर गर्दै आवश्यक मेशिनरी वाल तथा तार जाली लगायतको काम गर्नुपर्ने देखिएको छ, प्रदेश सभापति शर्माले बताए।
त्यसैगरी वडा नं. २५ का अध्यक्ष मोति तिम्सिनाले पहिरोबाट पीडित परिवारलाई तत्काल सामान्य राहतको व्यवस्था गरेपनि भर्खरै बनाउदै गरेका घर र भर्खरै निर्माण सम्पन्न गरेका घरहरुनै नरहँदा आर्थिक तथा अन्य समस्याले पीडित परिवार झनै पीडित बनाएको छ, उनले भने। मनकारी सहयोगीदाताहरुले वडाले बनाएको विपद व्यवस्थापन कोषमा सहयोग गर्न र एकद्वार प्रणाली अवलम्वन गर्नको लागि अनुरोध गरे।
“राहत वितरण गर्दा एकद्वार प्रणालीबाट गर्न लागिएको छ, कसैले नपाउने र कसैले दोहोरिएर पाउने समस्या हुन सक्छ, वडा मार्फत नै गर्न मापदण्ड बनाइएकोले सहयोगीहरुसँग समन्वय गरिन्छ, उनले भने।”
साथै, समस्या समाधानको लागि वडाले दिन रात नभनी काम गरेको बताउँदै चाडो भन्दा चाडो समाधानको लागि लागि परेको जानकारी गराए। “केही प्राविधिक समस्या छन्, तिनीहरुलाई समाधान गरेर लैजान केही समय लाग्न सक्छ, त्यो समाधान दीर्घकालीन हुनेछ,” उनले भने।
उक्त स्थलगत अनुगमन, अध्ययन तथा निरीक्षणको लागि नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवत्ता माधव प्रसाद बास्तोला (मघु), सञ्चार विभाग सचिव राज बहादुर गुरुङ, प्रदेश सदस्य शिरोमणि बराल, प्रदेश प्रतिनिधि किरणराज तिवारी, सामाजिक सञ्जाल तथा सूचना प्रविधि संयोजक ई.पारस रेग्मी, नेपाली कांग्रेस वडा नं. २५ का पार्टी सभापति मधुसुदन त्रिपाठी र टे«ड युनियन कांग्रेस कास्कीका उपाध्यक्ष पदम श्रेष्ठ लगायत ठूलो संख्यामा स्थानीयवासीको उपस्थिती रहेको थियो।