पोखरा । मुद्रण उद्योग संघ कास्कीद्वारा आयोजित नि:शुल्क ग्राफिक डिजाइन तालिम पोखरामा सञ्चालन भएको छ। जेठ २४ गतेबाट सञ्चालन भएको उक्त तालिम असार २३ सम्म हुनेछ।
सिटिइभिटी गण्डकी प्रदेशको सहयोगमा आयोजित तालिममा २७ जना प्रशिक्षार्थी सहभागी छन् । एक महिना सञ्चालन हुने तालिम ए फोर जेड ग्राफिक एकेडेमीमा पोखरा, न्यूरोडमा भइरहको छ।

मुद्रण उद्योगमा दक्ष जनशक्ति निकै अभाव भएकाले समस्या भईरहेको र त्यसलाई थोरै मात्रामा भएपनि राहत पुग्नेछ भन्ने विश्वासका साथ तालिम आयोजना गरिएको कार्यक्रम संयोजक तथा मुद्रण उद्योग संघ कास्कीका सहकोषाध्यक्ष पदम श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम शुभारम्भ गर्दै सिटीईभिटी गण्डकी प्रदेशका उपनिर्देशक जीवन भण्डारीले मुद्रण उद्योग संघ र सिटिईभिटी बीच आगामी दिनमा पनि सहकार्य गर्ने र तालिम निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे। साथै, उनले तालिम लिएर प्रमाणपत्र घरमा राखेर नबस्न र रोजगारमा लाग्न पनि आग्रह गरे । भण्डारीले तालिमबाट मुद्रण उद्योग थप व्यवस्थित हुने र पोखरामा पनि राम्रो डिजाइन र छपाई हुने विश्वास व्यक्त गरे ।

तालिम सिकेका प्रशिक्षार्थीलाई युवा स्वरोजगारमा जोडाइदिने काम सिटिइभिटीले गर्ने भन्दै उनले तालिम निकै प्रभावकारी हुनेछ भन्ने अपेक्षा गरे ।
संघका अध्यक्ष गिरबहादुर श्रेष्ठ (किरण)ले १३ र १४ जना गरि प्रशिक्षार्थीहरुलाई दुई समुहमा विभाजन गरेर कक्षा सञ्चालन गरिएको जनाकारी गराएका थिए । उनले बढ्दो बेरोजगारी र दक्ष कामदारको अभावले गर्दा श्रमिकहरुले उचित ज्याला पाउन नसक्ने तथा रोजगारदाताले दक्ष कामदार नपाउने अवस्था सृजना हुँदा आवश्यकता अनुसार सीप दिएर उनिहरुलाई रोजगार दिनको लागि प्रशिक्षण सुरु गरेको बताए।
कितावी ज्ञान मात्र भएर अहिले समाजमा जिउन धेरै गाह्रो भएको बताउँदै युवालाई रोजगार वा स्वरोजगार बनाउनको लागि तालिम सञ्चालन गरिएको हो, उनले भने आगामी दिनमा छपाई मेशिन अपरेटर टे«निङ लगायतका छापाखानामा काम गर्ने श्रमिकहरुलाई सिप विकासका तालिमहरु सञ्चालनको लागि मुद्रण उद्योग संघ कास्कीले सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने जानकारी गराएका थिए।

मुद्रण उद्योग महासंघ गण्डकी प्रदेश उपाध्यक्ष पदमलाल श्रेष्ठ र मुद्रण उद्योग महासंघका केन्द्रीय सचिव जीवन गोर्खालीले मुद्रण क्षेत्र निकै ठूलो सम्भावना रहेकाले उद्योगमा आवश्यक पर्ने दक्ष डिजाइनर उत्पादन हुने विश्वास व्यक्त गरे ।

संस्थाका वरिष्ठ उपाध्यक्ष चिन्तामणि बाँस्तोलाले उद्योगमा दक्ष डिजाइनर नहुँदा निकै समस्या भएको दु:खेसो पोखे ।