पोखरा,
रोजगारीको खोजीमा रहेका युवाहरुलाई लाक्षित गरी पोखरामा नै पहिलो पटक रोजगार मेला हुने भएको छ।
गण्डकी प्रदेश सरकारले एक कार्यक्रम राखी रोजगार मेला गर्ने तयारी गरेको जानकारी गराएको हो।
सामाजिक विकास मन्त्रालयको आयोजनामा हुन लागेको रोजगार मेलाबाट प्रदेशले १ हजार भन्दा बढीले मेला अवलोकन गर्ने र २ सय बढीले रोजगारको अवसर प्राप्त गर्ने अपेक्षा लिएको छ। व्यवसायिक तालिम लिन चाहने विद्यार्थीहरुका लागि प्रयाप्त जानकारी दिने समेत प्रदेशको योजना रहेको छ।

मेला गर्नु अघि व्यावसायिक योग्यता प्रणालीबारे सरोकारवालाहरुलाई अभिमुखीकरण तथा रोजगार मेला सम्बन्धि छलफल समेत गरिएको छ ।

अध्ययन तथा तालिम पुरा गरेका तर रोजगारीका अवसर प्राप्त नगरेका नागरिकका लागि उपयुक्त वातावरण सृर्जना गर्ने उदेश्यले मेलाको

आयोजना गर्न लागेको हो ।

सो अवसरमा मेलाको आयोजना हुँदा व्यवसायी र कामदार विचको खाडल पुर्ने काम गर्न व्यवसायीहरुले सुझाव दिए।

शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले गण्डकी प्रदेश सरकारले नागरिकलाई स्वदेशमै केही उत्पादन गर्न सक्ने दक्ष र योग्य नागरिक बनाएर राख्ने योजनाको सुरुवात मात्रै गर्न लागिएको बताए। “यो त सुरुवात मात्रै हो, हामीले मुख्य गरी २ कुरालाई जोड दिनेछौं, उनले भने प्रदेश सरकारले श्रमनीति ल्याएको छ। सोही नीतितालाई टेकेर असंगठित मजदुरहरलाई संगठित गरी राज्यको दायरामा ल्याउने र उनीहरुको समस्याको पहिचान गरी सीप अनुसारको काम मिलाउने योजना छ। अर्को भनेको प्रदेश भित्र व्यवासय गर्ने र व्यवसायमा चाहिने कामदार प्रदेशमै उत्पादन गर्ने हो। मन्त्री श्रेष्ठले सरकारको जानकारीमा नआएका धेरै क्षेत्र रहेको र त्यहाँ सीप भएका कामदार भएपनि व्यवस्थित नहुँदा विदेशीन बाध्य भएकाले अब विदेश जान नभई स्वदेशमै रोजगारको व्यवस्थापन गर्ने तर्फ प्रदेश सरकारले प्रदेश सरकार उदार भएको बताए। उनले मेलाले उक्त कुरामा ठूलो सहयोग पुग्नेमा विश्वास रहेको सुनाए। मेलालाई अर्थपूर्ण बनाउनको लागि गृहकार्य भएको र थप छलफल गरी मिति निर्धारण गर्ने जानकारी दिए।

नेपाल सरकार र स्विस सरकारको सहयोगले सञ्चालनमा रहेको नेपाल व्यवसायिक योग्यता प्रणाली परियोजना दोस्रो चरण अन्तरगत रोजगार मेला आयोजना गरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम र पूर्व ज्ञानको मान्यतामा आधारिक सिकाइको बारेमा जानकारी प्रदान गर्न मेलाको आयोजना गर्न लागेको मन्त्रालयका सचिव देवेन्द्र लामिछानेले जानकारी दिए। उनले दोस्रो चरणको छलफल पश्चात मिति तय गर्ने बताए। मेलाले सीप भएर पनि जागिर नपाउदा विदेशिन बाध्य नागरिकलाई स्वदेशमा नै राख्ने बताए।
सिटिइभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले रोजगार मेला सान्दर्भिक रहेको बताएका थिए। उनले रोजगारको खोजीमा दक्ष जनशक्ति पलायन हुने क्रम बढेको बताउँदै उद्योग, व्यवसाय लगायतका क्षेत्र जनशक्तिको अभाव भोग्नु परिरहेको अवस्थामा रोजगार मेलाले एकातिर रोजगार दातालाई आफ्नो आवश्यकता अनुसारको दक्ष जनशक्ति उपलब्ध हुनेछ भने अर्को तर्फ दक्ष नागरिकले आकर्षक तलबमा स्वदेशमा नै रोजगार पाउने हुँदा विदेसिनुपर्ने बाध्यताको अन्त्य गर्न केही हदसम्म मद्धत पुग्नेछ उनले भने ।

उक्त छलफलमा सुझाव दिँदै पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी व्यवसायी तिर्थ मगर, विश्वप्रसाद कर्माचार्य, सन्तोष घिमिरेलगायतले बोलेका थिए।
मन्त्रालयका उपसचिव तोयनाथ लम्सालले सञ्चालन गरेको उक्त कार्यक्रम मन्त्री मेखलाल श्रेष्ठले समापन गरेका थिए।