पोखरा ।
कास्कीको लोक नाटक “घेरो” इजिप्टमा मञ्चन हुने भएको छ ।
इजिप्टको लक्सर शहरमा हुने “द इन्टरनेशनल थियटर फेस्टिभल फर साउर्थन युथ”को छैठौं सत्रमा उत्कृष्ठ १३ अन्तर्गत नाटकले भाग लिँदै गरेको शुक्रबार(आज) “घेरो” नाटकको टोलीले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
उक्त नाटकका लागि ९ सदस्य कलाकार मार्च १३ मा इजिप्ट प्रस्थान गर्ने भएका छन् ।
केदार नाथ पौडेलले लेखेको नाटकलाई कपिल शर्माले निर्देशन गर्नुभएको छ । नाटकमा विनोद पौडेल– मादल, रेम रसाईली – पुछारे कान्छा, ज्योती हमाल – पुछारे कान्छी, कपिल शर्मा – झाँक्री र भैंसी, निलम तामाङ् – फुरुमैं, रामहरि अधिकारी – डाँडाघरे, अनिल तिमिल्सिना – ढाकामोहनका रुपमा रहेका छन्।
प्रकाश परिकल्पना विभु भुषालको रहेको छ भने प्रकाश व्यवस्थापन दिपेन्द्र पौडेलको रहेको छ । नाटकको मञ्च परिकल्पना सरोज अर्यालले गर्नु भएको हो । नाटक इन्द्रेणी थिएटरले उत्पादन गरेको हो । कार्यक्रममा इजिप्टका लागी नेपालका कार्यबाहक राजदुत दिपक घिमिरेको पनि सहभागिता रहने पौडेलले बताउनुभयो ।
उक्त कार्यक्रम मार्च १४ देखि मार्च २१ सम्म हुने नाटकका लेखक पौडेलले जानकारी दिदै अन्तर्राष्ट्रियस्तरका विभिन्न १२ वटा समूहसँग प्रतिष्पर्धा हुने बतानुभयो ।
इन्द्रेणी थिएटरले उत्पादन गरेको उक्त नाटक नेपाली समाजमा कुरीतिहरुले पारिरहेको असरको विषय समेटीएको लेखक पौडेलले बताउनुभयो ।
नेपाली समुदायबाट लोप हुँदै गएको वालन शैलिमा यसलाई प्रस्तुत गरिएको बताउदैं एउटा सामान्य घटनाको गलत बुझाईले कतिसम्म नकारात्मक असर गर्दछ र समाजका खराब व्यक्तित्वहरुले कसरी त्यसको फाईदा कसरी उठाउछन् भन्ने विषयवस्तु नाटकमा देख्न पाईने र सजिलैसंग बुझ्न पनि सकिने पौडेलले बताउनुभयो ।
“वालन शैलिलाई प्रयोग गरिएको, भजनबाट कथावाचन गरिने र गण्डकी प्रदेशको वोलिचालि तथा लवज नै नाटकका वलिया पक्ष हुन्”पौडेलले भन्नुभयो ।
उक्त नाटक यसअघी नेपालका विभिन्न क्षेत्र, भारत तथा साउथ कोरियामा मञ्चन भइसकेको छ।