पर्वत जिल्लाको फलेवास नगरपालिका वडा नं. १ कार्कीनेटामा भएको बृहत निःशुल्क स्वास्थ्य शिविर शनिबार अन्नपूर्ण माध्यामिक विद्यालयमा सम्पन्न भएको छ।
करिब ८ सय भन्दा बढी विरामीहरुले स्वास्थ्य उपचार भएको उक्त शिविरमा सबैभन्दा बढी अर्थो (हाड जोर्नी तथा नशा रोग) र जनरल को विरामीहरु उपस्थिति रहेका थिए।
कार्यक्रमका प्रमुख अतिथि फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले डा.मेघनाथ लामिछानेलाई प्रिस्क्रिप्सन दिई जेष्ठ नागरिकको उपचार गरि कार्यक्रमको उद्घाटन भएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख शर्माले कुनै समय पर्वत जिल्ला लाई चिनाउन कार्कीनेटाको नाम लिनुपर्ने भएपनि समय र परिस्थितिले कार्कीनेटालाई पछाडि धकेलिदिएको बताए।
गण्डकी प्रदेशकै रमणीय स्थल कार्कीनेटामा भएको शिविरको सफलताको शुभकामना व्यक्त गर्दै स्वास्थ्य भनेको संवेदनशिल क्षेत्र भएको बताएका थिए। नगरपालिकाले पनि शिविर सञ्चालन गर्दैै आएको भएपनि कोभिडको कारण २ वर्षदेखि सुचारु गर्न नसकिएको उनले भने। नगरमा राम्रो हस्पिटलको अभावका कारण शहरमा स्वास्थ्य उपचारको लागि लानु पर्नेभएकोले नगरपालिकाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्दै आइएको समेत जानकारी गराएका थिए।
उनले स्वास्थ्यको लागि घुम्ति शिविरको कार्ययोजना तय हुनुका साथै केही ठाउँमा कार्यक्रम समेत सुरु भइसकेको जानकारी गराएका थिए।
नगरपालिकाले परिवारको कुनै पनि सदस्यको आम्दानी नभएको खण्डमा पेन्सन सुविधा दिएको नेपालकै पहिलो नगरपालिका फलेवास रहेको जिकिर गरेका थिए।
त्यसैगरी दिर्घायु पोखरा हस्पिटलका अध्यक्ष केदार पोखरेलले शिविरबाट आफुले हस्पिटलको जस्तो सुविधा भन्दा पनि हाम्रो शरिरभित्रको समस्या लाई पत्ता लगाउनुका साथै त्यसबाट दिर्घकालिन समस्याबाट मुक्तको लागि गरिने जानकारी दिए। उनले शिविरमा उपचार गरेका विरामीहरुलाई आगामी दिनमा थाइराइड जाँचमा ५० प्रतिशत, अन्य जाँचमा २० प्रतिशत र फार्मेसीमा १० प्रतिशत छुट दिर्घायु पोखरा हस्पिटलले दिने बताए।
कार्कीनेटा सम्पर्क समाज पोखराका अध्यक्ष सीता शर्माले समाजले विभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आइरहदाँ कोभिडको कारण ग्रामीण क्षेत्रबाट शहरमा आई स्वास्थ्य जाँच गर्नको लागि समस्या देखिदा गाउँमै गएर स्वास्थ्य उपचार गर्दा उक्त क्षेत्रमा भएका आमावुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई प्रत्यक्ष प्रभाव पर्ने भएकोले कार्कीनेटामा बृहत निःशुल्क स्वास्थ्य शिविर गरिएको उनले जानकारी गराइन्। आगामी दिनमा स्वास्थ्य सँग जोडिएका कामलाई निरन्तरता दिनुका साथै अन्य शिविरहरु पनि सम्पर्क समाजले ल्याउने बताएकी थिइन्।
कार्यक्रम संयोजक पदम श्रेष्ठका अनुसार कार्कीनेटा सम्पर्क समाज पोखराको आयोजना, फलेवास नगरपालिका पर्वतको सहकार्य, दीर्घायू पोखरा हस्पिटल प्रा.लि. नयाँबजार पोखराको प्राविधिक सहयोगमा भएको कार्यक्रममा देउराली जनता फर्मास्युटिकल्स्ले १ लाख ५० हजार, डाइनामिक फर्मास्युटिकल्स् प्रा.लि.का सञ्चालक तथा सम्पर्क समाजका उपाध्यक्ष हरि प्रसाद शर्माले १ लाख २० हजार र स्ट्याण्डर्ड ड्रग डिष्ट्रिब्युटरका सञ्चालक तथा पूर्व कार्यसमिति सदस्य झलक शर्माले करिब ६० हजार रकम बराबरको औषधि सौजन्य गरेका थिए। त्यसैगरी रिदम होटलका सञ्चालक दिपक शर्माले एउटा स्कर्पियो गाडी व्यवस्थापन गरेको कार्यक्रम संयोजक तथा सम्पर्क समाजका कोषाध्यक्ष पदम श्रेष्ठले जानकारी गराए।ु
संयोजक श्रेष्ठका अनुसार स्वास्थ्य शिविरमा जनरल फिजिसियन (छाती, पेट, मुटु, सुगर, प्रेसर), हाड जोर्नी तथा नशा रोग (अर्थो), नाक, कान, घाँटी, स्त्री रोग सम्बन्धी, जनरल सर्जरी, छाला तथा यौन रोग, भिडियो एक्सरे, वाल रोग सम्बन्धी उपचार गरिनुका साथै मुटुको इसिजी, युएसजी तथा एवम् सुगरको जाँच सम्बन्धी ल्याब टेष्ट र औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।
कार्कीनेटा वडा, अन्नपूर्ण मावि, कार्कीनेटा स्वास्थ्य चौकी लगायत स्थानीयहरुको विशेष पहललाई मध्य नजर गर्दै शिविर गरिएको उक्त शिविरबाट करिब ८ सय जना भन्दा बढी विरामीहरुले स्वास्थ्य उपचार गरेको समाजका उपाध्यक्ष हरिप्रसाद शर्माले बताए। उक्त शिविरमा कार्कीनेटा, थापाठाना, शंकरपोखरी, भँगारा, खौला, विचारीचौतारा लगायतका वडाबाट सेवा लिनको विरामीहरुकोे उपस्थिति रहेको थियो। बाक्लो उपस्थितिका कारण वेलुका ७ बजेसम्म उपचार गरिएको शर्माले भने।
समाजका सचिव शिव प्रसाद पौडेलले सञ्चालन गरेको कार्यक्रम संस्था बरिष्ठ उपाध्यक्ष केशव घिमिरेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने अध्यक्ष सीता शर्माको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।