हेमजा साहित्य प्रतिष्ठानको साधारण सभामा शुभकामना आदान प्रदान गर्नुका साथै स्रष्टा सम्मान कार्यक्रम विहीबार सम्पन्न भएको छ।
नेपालीहरुको महान चाड विजया दशमी, दिपावली, नेपाल सम्बत एवम् छठ पर्वको अवसरमा आयोजित उक्त कार्यक्रममा प्रतिष्ठानले शिव त्रिपाठी, आवाज शर्मा र रिता थापाले रचना गरेको हिमशिखर लोर्कापण समेत गरेको थियो।
प्रतिष्ठानले हेमजा साहित्य प्रतिष्ठानको सल्लाहकार, मुद्रण उद्योग महासंघ गण्डकी प्रदेशको महासचिव, करुणानिधि माविका अध्यक्ष एवम् कोहिनुर अफसेटका सञ्चालक बसन्त बास्तोलाकी छोरी मिस कल्चर २०२० को विजेता प्रतिक्षा बास्तोलालाई सम्मान गरेको छ।
सम्मानित बास्तोलाले कार्यक्रममा बोल्दै प्रतिष्ठानको सम्मानबाट आफूलाई थप प्रेरणा र जिम्मेवारी दिएको बताइन्। उनले मिस कल्चरबाट आफूले धेरै कुरा सिकेको बताउँदै आफूले सिकेका कुराहरु अरुलाई सिकाउदै आइरहेको बताएकी थिइन्। “किशोराअवस्थामा युवायुवातिहरु कुलत र अन्य नराम्रा क्षेत्रमा फस्ने सम्भावना बढी हुनेभएकोले हामी जस्ता युवायुवतीहरुलाई परिवार र समाजले निगरानी राख्नु पर्छ। हाम्रा भावनालाई सहज तरिकाले बुझिदिने, थप चुनौति र सम्भावित हुनसक्ने गल्तीका बारेमा जानकारी गराएर भविष्यको बारेमा जानकारी गराउँदै जिम्मेवारी दिनुपर्छ,” उनले भनिन्।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि साहित्यकार कृष्ण बास्तोला “उदासी”ले साहित्य क्षेत्र एउटा महासागर भएको हुँदा यसमा सबै अटाउने जानकारी गराएका थिए। “हामी जन्मेदेखि मृत्यु र मृत्युपरान्तमा पनि साहित्यसँग जोडिन्छौं, फरक यत्ति छ, कसैले भाव पोख्छन्, कसैले देखाउँदैनन्, तर पनि आधा गाग्रीको पानी छचल्किदा झैं देखिन्छन्,” उनले भने, चाहे हामी सुसेलौ वा मधुर स्वरमा गीत गाऔं, लेखौं वा बोलौं, हिड्दा होस् या बस्दा सबै साहित्यका सिर्जना हुन्। नेपाल साहित्यको खानी भएको बताउँदै हाम्रा रगत रगतमा सृजनाका बहाव छन्, तर हामी कस्तुरी मृगले आफ्नो सुगन्ध आफै थाहा नपाएझैं गरि बसेका छौं उनले भने।
उक्त कार्यक्रममा सल्लाहकार रामचन्द्र त्रिपाठी, पोखरा महानगरपालिका वडा नं. २५का वडाअध्यक्ष शोभाखर तिमिल्सिना, सल्लाहकार केशव शरण पौडेल, समिक्षक लोकमणी खनाल लगायतले बोलेका थिए।
प्रतिष्ठानका सचिव सुनिल गायकले सञ्चालन गरेको कार्यक्रमको उपाध्यक्ष बलराम पौडेलले स्वागत मन्तब्य राखेका थिए भने अध्यक्ष छन्दमणी त्रिपाठीको अध्यक्षतामा सम्पन्न भएको थियो।