पोखराः सामाजिक काममा सक्रिय पोखरा-११ फूलवारीका श्रीप्रसाद बाँस्तोलाले विहीवार राति आफ्नै घरमा झुण्डिएर आत्महत्या गरे । शिक्षा, बालअधिकार, पत्रकारितामार्फत अरुको उत्थान गर्न अघि बढेका श्रीप्रसादले परिवार र आफन्तहरुवाट आफुमाथि गम्भिर षड्यन्त्र भएको जनाउँदै आत्महत्या गर्न बाध्य भएको फेसवुक स्टाटसमा लेखेका थिए । उनले आत्महत्या गर्नुपर्ने अवस्थामा आफुलाई धकेल्नेहरुमा आफ्नै श्रीमतिसहित पोखरामा आफुलाई सचेत, समाजसेवी भन्नेहरुको नाम समेत मुछेका छन् । श्रीप्रसादले किटेजस्तै ती व्यक्तिहरुको कत्तिको दोषि छन्? त्यो भविष्यमा परिवारको सहयोग र प्रहरीले निष्पक्ष छानवीन गरेमा खुल्ला भनेर अपेक्षा गर्न सकिन्छ । तर अहिले यहाँ के हामी आत्महत्या नै सबै समस्याको निकासा हो त ? नेपालमा कस्तो छ आत्महत्याको अवस्था ? त्यसवारेमा चर्चा गर्न गइरहेका छौ ।
बड्दो शहरीकरण, चरम असमानता, अभाव, अज्ञान, असहयोग, आक्रमण, असन्तुष्टि अनेक कारण आत्महत्या हुने गरेका अनुसन्धानले देखाएको छ ।
पछिल्लो समय नेपालमा आत्महत्या गर्नेको संख्या बृद्धि भएको छ । धेरैजसो आत्महत्या पारिवारिक असन्तुष्टि, झै–झगडा, कलह, कुटपीट, अभाव, निरासा, धोका, महत्वकांक्षा देखिएको प्रहरी अनुसन्धानमा उल्लेख छ ।
नेपाल प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी बसन्त कुवँरले घरेलु हिंसा, आर्थिक, प्रेम सम्बन्ध, दीर्घ रोग, परीक्षामा असफल, सामाजिक प्रतिष्ठान लगायतको कारणबाट आत्महत्या गर्नेको संख्या बढेको पाइएको बताए ।

मानसिक रोगले आत्महत्या

आत्महत्याका मुख्य कारण मध्ये मानसिक रोग प्रमुख कारण मानिन्छ । मनोविद् गोपाल ढकालले पारिवारिक कलहको कारण मानसिक रोगका बिरामीहरु बढिरहेकाले आत्महत्या गर्नेको संख्या पनि बढेको बताए । ‘जो कोहीले पनि आत्महत्या एकैपटक गर्दैनन्। धेरै प्रयास गरेपछि मात्रै आत्महत्या गर्छन्।’, ढकालले भने, ‘९० र ९५ प्रतिशत मानसिक रोग, ८० प्रतिशत डिप्रेशन, लागुऔषध र आवेगको कारण आत्महत्या भएका छन्।’
महिला र पुरुषको तुलनामा पुरुषले धेरै आत्महत्या गर्ने उनको दाबी छ। ढकालले भने,‘पुरुषले एकै पटक प्रयास गर्दा उनीहरु आत्महत्या गर्न सफल हुन्छन्। महिलाहरु धेरै पटक आत्महत्याको प्रयास गर्दा पनि सफल नहुने भएकाले पुरुषले धेरै आत्महत्या गरेका छन्।’
पछिल्लो समय आत्महत्या बढ्नुमा कोरोना भाइरस महामारी पनि रहेको उनको भनाई छ। देशमा लकडाउन हुँदा आर्थिक संकटसँगै बेरोजगारी, अस्वस्थकर, वैदेशिक रोजगारमा समस्या, राजनितिक, सामाजिक समस्याले गर्दा मानसिक समस्याहरु बढिरहेकाले आत्महत्या गर्नेको संख्या पनि बढिरहेको ढकालको दाबी छ।

बालबालिका देखासिकी गरेरै आत्महत्या गर्ने
पछिल्लो पाँच वर्षमा २ हजार ४३९ जना बालबालिकाले आत्महत्या गरेका छन्। । जसमा बालकको संख्या ९६५ जना र बालिकाको संख्या १ हजार ४७४ जना रहेका छन्। बालबालिका आत्महत्या गर्नुमा मुख्य कारण देखासिकी हो।
विभिन्न समाचार, नजिकैका घटनाहरुलाई देखेर, कुनै फिल्म, भिडियो देखेर आत्महत्या गरेपछि सबै ठिक हुने विश्वासले बालबालिकाहरु आत्महत्याको प्रयास गरिरहेको मनोविद् ढकालको बुझाई छ। प्रयास गर्दागर्दै उनीहरु आत्महत्या गर्न सफल हुने उनको भनाई छ। जिज्ञासाको कारणले पनि बालबालिकाहरु आत्महत्या गर्न बाध्य भएको उनले बताए। अभिभावकले बालबालिकाको कौतुहल, समस्यालाई बुझेर समाधान गरिदिनुपर्ने, गाली पिटाईभन्दा पनि उनीहरुलाई प्रेमले सम्झाईबुझाई गर्न आवश्यक रहेको ढकालले बताए।

सामाजिक समस्याले जन्मायो मानसिक समस्या
मानसिक स्वास्थ्य समस्या रोग मात्रै हो भनेर बुझ्नु गलत रहेको ढकालको भनाई छ। यो एउटा सामाजिक समस्या पनि रहेको उनले बताए। उनले भने, “समाजमा विभिन्न कारणले गर्दा, परिवारको नकारात्मक बुझाईको कारणले पनि आत्महत्या गर्न बाध्य बनाईदिने गर्छ। कमजोर व्यक्तिले मात्रै आत्महत्या गर्ने, आत्महत्या भनेको पाप हुने भन्ने जस्ता कुराहरु समाजको बुझाई रहेको छ। त्यसैले आत्महत्या बढेको कारण समाज पनि हो।”

पाच वर्षमा २९ हजार ७३४ जनाले गरे आत्महत्या
पछिल्लो पाँच वर्षमा नेपालमा २९ हजार ७३४ जनाले आत्महत्या गरेको नेपाल प्रहरीको तथ्यांकले जनाएको छ। तथ्यांक अनुसार पाँच वर्षमा ११ हजार २६५ महिला, १५ हजार ९६८ पुरुष, ९६५ बालक र १ हजार ४७४ जना बालिकाले आत्महत्या गरेका छन्। सबैभन्दा धेरै झुण्डिएर आत्महत्या गर्ने रहेका छन्। २२ हजार ७४१ जनाले झुण्डिएर आत्महत्या गरेका छन्। भने विष खाएर आत्महत्या गर्ने ६ हजार ३६६, आगो लगाएर ८८, औजार हातहतियारबाट ७९, हाम फालेर २४७, करेन्ट लगाएर ८, डुबेर १३७ र विष्फोटक पदार्थ प्रयोग गरेर १ जनाले आत्महत्या गरेका छन्।

आत्महत्या कम गर्न के गर्नुपर्छ ?
मानसिक स्वास्थ्यसम्बन्धी समस्याका कारण आत्महत्याको प्रयास बढी भएको अनुसन्धानको क्रममा देखिएको छ। परिवारले उनीहरुको समस्यालाई बुझिदिनुपर्ने हुन्छ। स्वंयम् व्यक्तिले पनि आफूलाई आत्महत्या गर्ने सोचविचार आएमा आफूलाई स्वास्थ्य समस्या रहेको भन्ने बुझेर समयमै उपचार गर्नुपर्छ। उनीहरुको गुनासो, पीडा, समस्या साथै उनीहरुले गर्ने जोखिमपूर्ण व्यवहारलाई सकारात्मक रुपमा लिएर संवेदनशील हुनुपर्ने ढकालको भनाई छ।
उनीहरुलाई प्रेमले सम्झाउने, धेरै माया दिने, समस्याको समाधान गर्न सहयोग गरिदिए पनि आत्महत्या गर्न कम गर्नेछन्। आत्महत्यालाई सरकारले सरोकारको विषय बनाई विभिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने हुन्छ। नेपालमा यस्ता समस्याको उपचार गर्ने मनोविद्हरु पनि कम भएको कारण जनशक्ति बढाउनुपर्ने ढकालको बुझाई छ।