पर्वत : लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीले पर्वतको कार्कीनेटा स्वास्थ्य चौकीमा सोमबार स्वास्थ्य सामाग्री सहयोग गरेको छ।
क्लबका मेम्बर सिप चियर पर्सन तथा कार्यक्रम संयोजक पदम श्रेष्ठको आमा चन्द्र कुमारी श्रेष्ठ, कार्कीनेटाका वडाअध्यक्ष बाबुराम शर्मा र क्लबका अध्यक्ष मोहदत्त भुषालको हातबाट संयुक्त रुपमा कार्कीनेटा स्वास्थ्य चौकीका प्रमुख सुशिल प्रसाद शर्मालाई स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो।
फलेवास नगरपालिका वडा नं. १ मा रहेको उक्त स्वास्थ्य चौकीमा अक्सिजन सिलिन्डर २ थान, फ्लो मेसिन २ थान, टुल्स १ थान, सुगर टेस्टर मेसिन १ थान, टेष्ट किट ७५ थान, नेबुलाईजर मेसिन १ थान, सुचर स्टिज, स्टेचर १ थान लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको कार्यक्रम संयोजक पदम श्रेष्ठले जानकारी गराए।
संयोजक श्रेष्ठले स्वास्थ्य चौकीमा राज्यले लाखौं लगानी गरेर कर्मचारीको व्यवस्थापन गरेपनि स्वास्थ्य सामाग्रीको अभावले गर्दा कर्मचारीहरुले आफ्नो दक्षता अनुसार काम गर्न नपाएको गुनसाहरु आएको जानकारी गराएका थिए। उनले उक्त स्वास्थ्य समाग्री सहयोग गर्ने सहयोगदाताहरुप्रति धन्यवाद व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वडा नं. १ का वडाअध्यक्ष बाबुराम शर्माले सहयोगी हातहरुप्रति धन्यवाद व्यक्त गर्दै स्वास्थ्य क्षेत्रलाई आवश्यक पर्ने अन्य सामाग्रीहरुमा पनि वडाले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।
त्यसैगरी कार्कीनेटा स्वास्थ्य चौकीका प्रमुख अहेव सुशिल प्रसाद शर्माले स्वास्थ्यचौकीबाट निरन्तर चल्ने खोप, गर्भवती जाँच लगायतका स्वास्थ्य सेवाका कामहरु गरिएको भएपनि इमरजेन्सी, गर्भवती महिलाहरु र स्वासप्रस्वासका विरामीहरुलाई अन्य हस्पिटल रिफर गर्दा अक्सिजन अभावका कारण थुप्रै समस्या व्यहोर्नुपरेको जानकारी गराएका थिए। हस्पिटलमा काम गर्न बसेपनि स्वास्थ्य सामाग्री र औषधिको अभावमा सोंचे जसरी काम गर्न नसकिएको उनले बताएका थिए। “हामी काम गर्न बसेका छौं, दिन रात नभनी खटिन तयार छौं, तर आवश्यक स्वास्थ्य सामाग्री नहुँदा जटिल समस्यालाई पोखरा सम्म पनि रिफर गर्नुपरेको छ, यसैगरी आवश्यक स्रोत साधनको आपुर्ति व्यवस्थापन हुन सके सबैखालको उपचार स्थानीय तहमै हुन सक्छ” उनले भने।
स्वास्थ्यचौकी प्रमुख शर्माले स्वास्थ्य सामाग्री सहयोग गर्ने लायन्स क्लब अफ पोखरा माउण्टेनसिटी प्रति धन्यवाद व्यक्त गर्दै स्वास्थ्य सामाग्रीको सहि सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

माउण्टेनसिटी क्लबका अध्यक्ष मोहदत्त भुषालले सहयोग सानो भएपनि महत्वपूर्ण स्वास्थ्य सामाग्रीहरु भएकोले आवश्यक स्वास्थ्य समस्या भएकाहरुले स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिनुहुन अनुरोध गरेका थिए। भएको चिजलाई सुधार गरेर लैजाने हो भन्दै स्वास्थ्य संस्था राज्यको सम्पत्ति मात्र नभई सम्पूर्ण वडावासीहरुको पनि सम्पत्ति भएकोले सबै पक्षबाट सहयोग गर्न आग्रह गरेका थिए। उनले सामान्य समस्या हुँदापनि गाउँबाट शहरमा उपचार गर्न जाँदा लाखांै रकम खर्च हुने भएकाले गाउवासीहरुले आफूले सक्दो सहयोग गर्न सके अत्यावश्यक र सामान्य निरन्तर उपचार गर्नुपर्ने सेवाको लागि सहज हुने बताए।

माउण्टेनसिटी क्लबका सचिव नरेश सुवेदीले सञ्चालन गरेको कार्यक्रम संस्थाका प्रथम उपाध्यक्ष लायन शक्ति बरालले स्वागत मन्तब्य राखेका थिए भने अध्यक्ष मोहदत्त भुषालको अध्यक्षतामा सम्पन्न भएको थियो।
स्मरणीय छ, कार्कीनेटालाई केन्द्रित गरि यस अघि पनि लायन्स क्लब अफ पोखरा माउण्टेनसिटीले अन्नपूर्ण माध्यमिक विद्यालयमा निःशुल्क आँखा शिविर, ढुंगेढाटीमा खानेपानीको ट्याङ्की बनाउन आर्थिक सहयोग गरेको थियो। आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै लैजाने क्लबले जानकारी गराएको छ।