मुगुमा आज भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घटनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।
नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका-७ स्थित पिनाटपने खोलामा दुर्घटनामा परेको थियो । प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र सनाखत भएको र बाँकी मृतकको सनाखत हुन समय लाग्ने जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी महतका अनुसार बस सडकबाट झण्डै ३ सय मिटर तल खसेको छ । ‘ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको छ,’ उनले भने, ‘अहिले पनि उद्दारको काम जारी छ ।’ प्रहरीका अनुसार गाडीमा भारतबाट मजदुरी गरेर आएका र विद्यार्थीहरु बढी थिए । मुगु सडक सञ्जालमा जोडिएपछि यो सबैभन्दा ठूलो दुर्घटना हो । नेपालगञ्जबाट सोमबार छुटेको उक्त बसमा ४५ यात्रु सवार थिए ।
मुगु सदरमुकाम गमगढी २०६९ सालमा सडक सञ्जालमा जोडिएको थियो । तर अहिलेसम्म सडक साघुँरो र कच्ची हुँदा दुर्घटनाको जोखिम बढी छ ।
घाइतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पुर्‍याइएको थियो । घाइतेको बाँकेको कोहलपुर र नेपालगञ्ज मेडिकल कलेज उपचार भइरहेको छ । सामान्य घाइते छ वर्षीया एक बालिकाको मुुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृतक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ । दुर्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिएका थिए । प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरीलाई दुर्घटनाको खबर आउने बित्तिकै उद्धार गरेर उपचारका लागि पठाइएको बताए । उनका अनुसार हाल १३ जना उपचाररत छन् ।