पोखरा ः आफ्नो ज्यानको बाजी राखेर कोरोना सक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीले लामो समयदेखि तलब सुविधा नपाएको भन्दै प्रशासन कार्यालयमा धर्ना दिदाँ पनि सुनुवाइ नभएपछि अहिले मनिपाल प्रशासन र मनिपा कर्मचारी, स्वास्थकर्मीको विवाद सुल्झाउन फाइल केन्द्र विभागमा पुगेको छ।
गण्डकी प्रदेशकै ठूलो शिक्षण अस्पताल मनिपालले स्वास्थ्यकर्मी तथा कर्मचारीको ज्यानको जोखिममा राखी घण्टौ उपचारमा खटिदा खटिदै पनि उनिहरुले पाउनु पर्ने रकम नपाउँदा निराशा मात्रै भएका छैनन् सेवा नै प्रभावित बन्न पुग्ने खतरा बढेको छ।
स्वास्थ्यकर्मी तथा कर्मचारीले आफ्ना गुनासा राख्न खोज्दा कामबाट नै निकाल्ने धम्की दिदै आएको स्वास्थ्यकर्मी तथा कर्मचरीले बताउँदै आएका छन्। उनिहरुले पाउने आफ्ना माग र सेवा सुविधाहरुका बारेमा बोल्न सकेका छैनन्, प्रशासनले लदाएर काम गराउँदा पनि काम गर्न बाध्य भएका विवश कर्मचारीहरु कतै आफ्नो नाम जोडिएर समाचार नै आयो भने जागिरबाट नै हात धुनुपर्छ कि भन्दै चिन्ता समेत व्यक्त गरेका थिए।
मनिपालमा रहेका ३ वटा ट्रेड युनियनको समन्य समितिका अध्यक्ष जीवन थापाले प्रचलित श्रमऐनले व्यवस्था गरेअनुसार श्रमिकहरुको हक हित र नैतिक समन्वय लगायत काम गर्ने कर्मचारीहरुको सरोकार राख्ने विषयकका बारेमा मागपत्र पेश गरेको २ वर्ष वितिसक्दा पनि प्रशासनले वेवास्ता गरेको हुँदा आन्दोलन नै गर्न परेको उनले जानकारी गराएका थिए।
“हामीले जायज मागहरु पेश गरेका छौं, यसमा मनिपाल प्रशासन र कर्मचारी दुवैलाई फाइदा छ तर पनि उहाँहरुले कर्मचारीका जायज मागहरु प्रति नकरात्मक सोंच राखी बार्ता बस्न नखोज्नु, कर्मचारी, स्वास्थ्यकर्मीलाई काममा मात्रै पेलाउनु, लामो समय काम गर्दा तलब नबढ्दा कर्मचारी, स्वास्थ्यकर्मी ठूलो समस्यामा परेका छन्,” उनले भने, “अहिले हामीले करिब १५ दिन शान्तिपूर्ण रुपमा धर्ना कार्यक्रम भयो, अन्ततः त्रिपक्षितरुपमा छलफल भयो, तर यसबाट हाम्रा माग सम्बोधनको सट्टा झन पेलेर लाद्न खोजियो, बार्ता विफल बन्यो,” अध्यक्ष थापाले भने।
प्रचलित श्रम ऐनको पालना गराउन स्थापना भएको सरकारी निकायको भूमिका उदेकलाग्दो भएको मनिपालको उद्देश्यलाई मलजल हुने गरी श्रम कार्यालयले अपनाएको कार्यशैलीलाई लिएर मनिपालका युनियन, कर्मचारी रुष्ट बनेका छन्। आफ्ना मागहरुप्रति यसैगरी वेवास्ता गरेमा तिन तहका युनियनहरुले कडा कदम चाल्ने नेपाली कांगे्रेस निकट स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीले बताए।
मनिपाल शिक्षण अस्पतालको समस्या समाधानको लागि मनिपाल प्रशासन, श्रम कार्यालय र ट्रेड युनियनको त्रिपक्षिय वार्ता बसेको थियो। तर आफ्ना माग सुनुवाई नभएको भन्दै युनियनले आफ्नो मागको सुनुवाइ गरि सत्य तथ्य छानविन गरिदिन श्रम तथा व्यवस्थाजन्य सुरक्षा विभागमा पत्राचार गरिसकेको जानकारी गराएको छ।
अघिल्ला समयमा पनि यस्तै विवाद बढ्दै जाने क्रममा २०७४ चैत १९ गते कर्मचारी युनियनहरुको आन्दोलनकै क्रममा प्रहरीद्वारा नेपाली कांग्रेस निकट स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष नवराज भण्डारीलगायत करिब १० जनालाई प्रहरीले गिरफ्तार गर्नुका साथै दर्जनौ स्वास्थ्यकर्मी र कर्मचारी घाइते बनेका थिए।। ततपश्चात् विवाद उत्कर्षमा पुगेपछि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका निमित्त महानिर्देशक उत्तम कुमार गुप्ताको अध्यक्षतामा विवाद समाधानका लागि लिखित निर्णय भई कार्यनव्यन गरिएको थियो।