पर्वत :
कुश्मा नगरपालिका खरेहामा रातको समयमा घर फोरी करिब ३ लाख बराबरको धनमाल चोरी भएको छ।
शुक्रबार पदमराज पोखरेलको घरमा कोही नभएको समयमा ओदानको खुट्टाले चापी फोरी घरमा भएको नगद र सुन चोरी भएको हो।
घर पोखरेलका अनुसार साडे २ तोला सुनका गहना र नगद २० हजार गरी जम्मा २ लाख ७० हजार बराबरको चोरी भएको बताएका छन्।
“श्रीमतीले छोराछोरी लिएर माइत गएको र म अस्पताल गएको समयमा राती घरको चापी फुटालेर १.५ तोला बराबरको लकेट सहितको सिक्री १ थान, ३० लालको शिरमा लगाउने चन्द्रमा १ थान, ७५ लालको पत्थरवाला औठी र दराजमा राखेको नगद २० हजार चोरी भएको रहेछ। विहान करिब ७ः१५ बजे घर पुग्दा चापी फुटालेर घरका सामान छरिएर रहेका थिए,” उनले भने, “सम्पूर्ण जानकारी पर्वत प्रहरी कार्यालयमा जानकारी गराएको छु। अझसम्म चोर पत्ता लगाउन सकिएको छैन, अनुसन्धानको प्रक्रियामा रहेको प्रहरीले जानकारी गराएको छ,” उनले भने।
चाडवाडको समयमा चोरीका घटना बढ्ने भएकोले आफ्नो जस्तै समस्या नहोस् भनी चनाखो भएर बस्न घरधनीहरुलाई उनले अनुरोध गरेका छन्।
पर्वत जिल्लामा केही समय अगाडिदेखी चोरीका घटना बढ्दै गइरहेका छन्। चोरीका घटना प्रयोग गरिएको प्रकृति एउटै प्रकारको भएको प्रहरीले सार्वजनिक गर्दै केही व्यक्ति अनुसन्धानको लागि समेत पक्राउ गरेको थियो।
चाडवाड नजिकिदै गर्दा चोरीका घटना दिनानुदिन बढ्दै जाने सम्भावनालाई न्युनिकरण गर्नको लागि जिल्ला प्रहरी कार्यालय पर्वतले व्यापक रुपमा प्रहरी परिचालन गरेको जानकारी गराएको छ भने गाउँघरमा चाडवाडमा नयाँ मानिसहरुको प्रवेशसँगै चोरहरु सक्रिय रहने भएको हुँदा घरधनीहरु पनि सचेत रहन प्रहरीले आग्रह गरेको छ। गाउघर, टोलमा चोरीका घटना सम्बन्धी जानकारी भएमा टोलफ्रि नम्बर १०० र कन्ट्रोल रुम ९८५७६३०५५१ मा जानकारी गराउन समेत पर्वत प्रहरीले अनुरोध गरेको छ।