म्यारी गोल्ड चेन युकेद्वारा कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका वडा न ९, सिधिङ स्थित सरस्वती आधारभूत विद्यालयलाई न्यानो कपडा र खेलकुद सामाग्रीहरु बुधबार वितरण गरेको छ।
करिब ३ लाख ५० हजारको उक्त सामाग्रीमा ज्याकेट, ट्राउजर, टोपी, मोजा, ईन्नर वेवर तथा विभिन्न खेलकुदका सामाग्रीहरु रहेका थिए।
१ सय ४२ जना विद्यार्थी र १५ जना शिक्षकहरुलाई वितरण गरिएको उक्त कार्यक्रममा खेलकुद बिकास समिति कास्कीका सचिव एबम् कास्की जिल्ला भलिबल संघका अध्यक्ष भिम पराजुलीको प्रमुख अतिथ्यतामा भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पराजुलीले २ थान कम्प्युटर, १ सेट भलिबल पोल, १ थान रेफ्री स्टान्ड सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै आगामी दिनमा क्रमिक रुपमा भलिबल र नेट सहयोग गर्ने बाचा गरेका थिए। उनले विद्यालय परिवारलाई व्यवहारिक एवम् गुणस्तरीय शिक्षामा जोड दिन समेत आग्रह गरे।

म्यारी गोल्डका नेपाल प्रतिनिधि पूर्ण बहादुर गुरुङ (जापान)ले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए। त्यसैगरी पर्यटन व्यवसायि एबम निवर्तमान बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सुदिप गौतम, बिद्यालयका प्रधानाध्यापक शान्ति तामाङले धन्यवाद एवम् कृतज्ञता व्यक्त गरेका थिए।
बिशेष अतिथिमा म्यारी गोल्ड चेन युके, नेपाल प्रतिनिधि पुर्ण बहादुर गुरुङ (जापान), कास्की जिल्ला भलिबल संघका सदस्य बलराम तिमिल्सिना, माछापुच्छ्रे गाउँपालिका–९ वडा सदस्य रुद्र प्रसाद सुवेदी, पर्यटन व्यवसायि एबम् निवर्तमान बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष सुदिप गौतम, समाजसेवि कृष्णकाजी गुरुङ, समाजसेवि विबेक दाहालको उपस्थिति रहेको थियो।
बिद्यालयका शिक्षक नर बहादुर रावतले कार्यक्रमको स्वागत मन्तव्य व्यक्त गरेका थिए भने शिक्षक मोहन सिंह तामाङले सञ्चालन गरेको उक्त कार्यक्रम बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष राज कुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।