नेपाल टेलिकमको द्रुत गतिमा इन्टरनेट चल्ने एफटिएच प्रविधि लमजुङ जिल्लामा सुरु भएको छ।
नेपाल टेलिकम पोखराका कार्यालय प्रमुख रवि मानन्धरले लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमप्रसाद लुईटेललाई सिपिई हस्तान्तरण गरि एफटिएच सेवा सुचारु गरेको नेपाल टेलिकम लमजुङले औपचारिक जानकारी गराएको थियो।
प्रमुख जिल्ला अधिकारी लुइटेलले लमजुङ जिल्लामा नेपाल टेलिकमले दु्रत गतिको इन्टरनेट, फोन र टिभी सेवा सञ्चालन गरेकोमा खुसी व्यक्त गर्दै टेलिकमका वायरलाईन सेवा निर्देशनालयका निर्देशक अनन्तमान सिंहलाई फोन गरि धन्यवाद व्यक्त गरेका थिए।
नेपालको ७७ वटै जिल्लामा एफटिएच सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल टेलिकमले यस अघि ५८ जिल्लामा एफटिएच सेवा सुरु गरिसकेको छ भने लमजुङ ५९ औं जिल्लामा रहेको छ।
एकै तारवाट टेलिफोन, इन्टरनेट र टेलिभिजन लिन सकिने उक्त प्रविधि अन्तर्गतको सेवा हाल प्रशासन चोक, नगरपालिका, नारायण थान आसपास, फुलवारी चोक, हस्पिटल लाइन क्षेत्रमा जडान गर्न सकिने नेपाल टेलिकम लमजुङका कार्यालय प्रमुख सिताराम सुवेदीले जानकारी गराएका थिए। उनले १ हजार २४ लाइन क्षमता तत्काल जडान गरिएको र बाँकी क्षेत्रमा दशैं पछि लगतै विस्तार गरिने बताए।
सहायक प्रमुख जिल्ला अधिकारी जगदिश मिश्रले इन्टरनेट सेवा चलाई ऐन ग्रहण गरेका थिए। प्रादेशिक निर्देशनालयका वरिष्ठ इन्जिनियर रामचन्द्र पोखरेल र सप्रअ रुद्र तिमिल्सिनाले जडान सहजिकरण गरेका थिए।