पर्वत  : व्यक्तिगत स्वार्थ त्यागेर पार्टीको लागि अगाडि बढ्न नेपाली कांग्रेस पर्वतका नेता ऋषिकेश तिवारीले सुझाव दिएका छन्।
नेताहरुको विचमा १४ औं महाधिवेशनलाई सफल बनाउनको लागि विभिन्न समयमा आफूले पहल गरेको बताउँदै गुट र उपगुटको पछि नलाग्न नेताहरुलाई आग्रह गरेका छन्।
१९ वर्षको कलिलो उमेरदेखि राजनीतिमा क्रियशिल रुपमा लागेका तिवारीले ३२ वर्षको उमेरमा विद्यार्थी आन्दोलनमा नेतृत्व दायी भूमिमा निर्वाह गरेका थिए। पञ्चायत शासनको धोर विरोधमा उत्रिएपछि उनले आफ्नो ज्यानको बाजी थाप्नु परेको थियो। “राष्ट्रको निम्ती बलिदान दिन पनि तयार छु तर पञ्चायतले देश र जनतालाई भलो गर्दैन” भन्दै हिडेको उनी बताउछन्, “मैले नयाँ जिवन पाएको हुँ, म मृत्युको मुखबाट फुत्केर आए, मलाई ज्यान मार्ने धम्की मात्रै आएन, मार्नको लागि धेरै प्रयास गरे तर भाग्यले बाँचे।
“राजनीति गर्ने भनेको जनताको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासनव्यवस्थाको प्रणाली निर्धारण गर्ने, प्रशासन सँग सम्बन्धित सामाजिक सिद्धान्त बोकी काम गर्नु हो। तर पछिल्लो समय राजनीति गर्ने व्यक्तिले धन आर्जनको बाटो बनाउदा जनताले राजनिती भन्ने शब्द नै मन पराउन छाडेको अवस्था सृजना भएको छ,” उनले भने, धन कमाउने ईच्छा भए व्यापार व्यवसाय, उद्योग सञ्चालन गर्ने हो, राजनीति गरेर सोझा साझा जनतालाई लात हान्नु भनेको राजनीतिको खोल ओडेर जनतालाई भ्रममा पार्नु हो बुझ्नु पर्छ। राजनीतिमा लागेर पद नै पाउनु पर्छ भन्ने छैन, आफु जुन स्थानमा रहेको छ त्यहीबाट जनताको सेवा गर्ने हो,” उनले भने।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा युवाहरुको आकर्षण हुनु खुसीको कुरा बताउँदै काम गर्नको लागि पदिय जिम्मेवारी चाहिन्छ, तर योगदान र योग्यताको कदर नहुँदा कांग्रेस कमजोर बन्न पुगेको छ, नेता तिवारीले भने “राजनीतिमा भिजन भएको मान्छेको लागि पद आवश्यक हुन्छ, पद नहुँदा बोल्न सक्ला, लेख्न सक्ला तर राजनीतिको शक्ति प्रयोग गरेर काम गर्ने वातावरण नमिल्न सक्छ यो विपीको भनाई हो, त्यसैले काम गर्नको लागि उचित ठाउँमा सही व्यक्ति रहनुपर्छ।”
जिम्मेवार व्यक्तिले आफ्ना व्यक्तिगत स्वार्थलाई त्यागेर अगाडि बढ्नु बढेमा उसलाई नेतृत्वमा राखेर सहयोग गर्ने वातावरण वनाउन सक्नुपर्छ तव मात्र संस्था बलियो बन्छ, उनले भने, गुटगत राजनीतिबाट माथि उठ्न केन्द्रका नेताहरुलाई समेत आफूले पहल गरेको बताउँदै नेता तिवारीले जिल्ला स्तरका नेताहरुलाई गुटगत राजनीति गर्दै जाँदा त्यो लामो समय हुने र लामो समय रहँदा एकले अर्कोलाई सिध्याउने राजनीति बन्ने सम्भावना भएकोले समग्र कांग्रेसलाई नै एउटा ठूलो क्षति पुग्ने विचार व्यक्त गरेका थिए।
गुटगत राजनीति गरेर एकले अर्कोलाई भित्तामा नै पुग्ने गरी गुटको राजनीति नगर्न नेताहरुलाई अनुरोध गरेका थिए। “बरु अलिकति सिमा राखौ, बैचारिक, सैद्धान्तिक, क्रियाशिल र सिर्जशिल बनौं, गुटमा नरमाई सृजनामा रमाउने, काममा रमाउने, जनभावना बुझ्ने वातावरण बनाऔं,” उनले भने।
सफल राजनीतिज्ञ बन्नको लागि प्रशिक्षण समेत गराएका नेता तिवारीले जिल्लाका नेताहरुलाई मिलेर जान, एकताको भावना बोकेर अगाडि बढ्न समेत अनुरोध गरेका छन्। अन्यथा सम्भव नभए सिनियर साथीहरुलाई मिलाएर जेष्ठता, योग्यता, क्षमता र निरन्तरताको आधारमा सम्मान गरौं, उनले भने, “यो विशेष अधिवेशन मिल्न यस कारण छ, नजिकिदै गरेको स्थानीय निर्वाचन र संघिय निर्वाचन हुन गइरहेको हुँदा हामी कमजोर अवस्थामा छौं, जननिर्वाचन जसरी पनि जित्नु पर्ने भएकोले मिलेर सक्षम र सवल कांग्रेस बनाउन हामीलाई आवश्यक रहेको छ। पार्टीमा झगडा गरेर अहिले चुनाव जितिएला तर जनताको मन जित्न सकिदैन, पहिलै देखि राजनीति गर्ने नयाँ साथीहरुले पर्वत जिल्लालाई नमुना जिल्ला बनाउन तर्फ लाग्नुपर्ने भएको छ। उद्यमशिलताका कुरा र काम गर्ने बातावरण सिर्जना गर्नुपर्छ। उद्यमशिलता, उत्पादन बढाऔं, नमुना जिल्ला बनाऔं, पर्यटकीय स्थल बनाऔं, अनावश्यक कुरामा नअल्झिऔं।”
योगदान र योग्यताको कदर नगरिदा धेरै पुराना साथीहरु बाहिर रहेको बताउँदै नेता तिवारीले भने, नेपाली कांग्रेसमा पार्टीमा मापदण्ड नहुँदा र योग्यता निर्धारण नगरिएका कारण युवाहरुको चुनावी मैदानमा उत्रिनु स्वभाभिक भएको बताए। राजनीति भनेको पोखरी नभई नदी बन्नुपर्छ उनको भनाइ छ। यहाँ नयाँ युवाहरु आउनु आवश्यक रहेको छ। तर “सिनियरहरुको होस र युवाहरुको जोस”लाई ५०÷५० प्रतिशत मिलाएर अगाडि बढ्न सके मात्र अगाडि बढ्न सकिने उनले जानकारी गराएका थिए।
चुनावी मैदानमा उत्रिनुभन्दा पहिला नेताहरुले सर्बप्रथम आफूले आफूलाई हेर्ने, मुल्याङ्कन गर्ने त्यसपछि क्षमता, योगदान, योग्यता भएकालाई सँगै लिएर युवाहरु पनि साथमा राखी मर्यादा, सिद्धान्त, इमान्दारिता, विचार, आर्थिक र समाजिक रुपान्तरको लागि राजनीति गरेमा कुनै समस्या नहुने अनुभव आफूले प्राप्त गरेको उनले बताएका थिए।
कतिपय ठाउँमा अनुभवि र सिनियरको नाताले अग्रजलाई राखेर अरु युवाहरुले सिक्दै अगाडि बढ्नुपर्ने अवस्था हुने भएकोले पार्टीमा “म भन्दा हामी, हाम्रो भन्दा राम्रो मान्छे” भएमा सबैलाई पत्याउने खालको नेता भइने नेता तिवारीले जानकारी गराए।
नेपाली कांग्रेसको क्रियशिल सदस्यको विवादलाई सुल्झाउन अधिवेशनको मुखमा आइ क्रियशिल सदस्य बाड्न नुहने बताएका छन्। “१२ वटै महिना क्रियशिल सदस्य खुल्ला राख्नुपर्छ, तर अधिवेशन र महाधिवेशन गर्ने १ वर्ष भित्र सदस्यता वितरण बन्द गर्नुपर्छ। तवमात्र सदस्यमा विवाद सिर्जना हुँदैन, अधिवेशन सकिएपछि पुनः सदस्यता खुल्ला राख्ने काम केन्द्रले गर्नुपर्छ,” उनले पार्टी मुख्यसचिव हुँदा अनुभव प्राप्त गरेको जानकारी गराए।
२०६४ सालमा पार्टीले मनोनित गरेर छोटो समय सांसद बनेका नेता तिवारीले नेपाली कांगे्रेसको मुख्य सचिवको भूमिका निर्वाह गरी काम गर्ने अवसर समेत प्राप्त गरेका थिए। उक्त समयमा पार्टीलाई थप उचाईमा पु¥याउन उनको महत्वपूर्ण योगदान पु¥याएको शिर्ष नेताहरु बताउँछन्।
जनताको मतबाट निर्वाचित भएर आफ्नो क्षेत्रको विकास गर्ने मन भएपनि अवसर नपाएका तिवारी कहिल्यैपनि पार्टीप्रति गुनासो व्यक्त गरेका छैनन्। बरु व्यक्तिगत लोभ र लालचमा नफसी पार्टीलाई कसरी अगाडि बढाउन सकिन्छ भन्दै आफ्नो सम्पूर्ण जिवन त्याग गरेका छन्।
करिब ४२ वर्षभन्दा बढी निरन्तर राजनीति र समाजसेवा गर्दै अगाडि बढेका तिवारीले समाजलाई आर्थिक, सामाजिक र अन्य तवरबाट अगाडि बढाउन कुनै कसुर बाँकी नराखी अगाडि बढेका छन्।