काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा नेकपाका प्रचण्ड नेपाल समूह चरणबद्ध आन्दोलनमा उत्रिएका छन् । आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले आज पहिलो दिन काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन शुरु गरेको छ ।

प्रदर्शनमा सहभागी हुन नेकपाका नेता कार्यकर्ताहरु माइतीघर पुगेका छन् । । आन्दोलन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, अर्का अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ लगायतका शीर्ष नेताहरुको सहभागीता छ ।

प्रर्दशनमा सहभागी विघटित प्रतिनिधिसभाका सदस्यहरुले ‘हामी यहाँ छौं’ भन्ने लेखेको प्लेकार्ड बोकेका छन् । हामी यहाँ छौं लेखिएका प्लेकार्ड छातीमा टासेका प्रचण्ड माधव नेपाल लगायत लाइन लागेर पलेटी मारेर सडकमा बसेका छन् । अघिल्लो लहरमा दुई लाइन बनाएर प्रचण्ड र नेपाल बसेका छन् भने अन्य नेता कार्यकर्ता उनीहरुको पछाडी बसेका छन् । संसद पुनस्र्थापना हुनुपर्ने उनीहरुको माग छ ।