नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले लिएको बाटो सही नभएको बताएकी छन्।

बिहीबार प्रज्ञा प्रतिष्ठानमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शाक्यले नेपाललाई एमालै फर्किन आह्वान गरिन्।

‘कमरेड माधव नेपालले लिएको बाटो सही छैन। यतिबेला फुटको हैन जुटको राजनीति आवश्यक छ।’ बागमती प्रदेशी मुख्यमन्त्रीसमेत रहेकी शाक्यले भनिन्, ‘मेरो प्रस्ट धारणा छ। माधव नेपाल हाम्रो नेता हो, तर आज जीवन त्याग गरेको पार्टी छोडेर आन्दोलन अघि बढाउँछु भन्नुभएको छ यो ठिक होइन, फेरि समिक्षा गर्नुस्, फर्केर आउनुस्, तपाईको भुमिका एमालेमा अझै आवश्यक छ। पार्टी विभाजन गरेर फाइदा हुन्न।’

नेतृ शाक्यले अदालतले फैसला गरेपछि आफूहरू एमाले हुन नपाउँदा जिन्दगीमा सबैभन्दा पीडा भएको सुनाउँदै १० बुँदे सहमतिले आफूहरू एमाले हुन पाउँदा सबभन्दा खुसी भएको शाक्यले बताइन्।

शाक्यले भनिन्, ‘कमरेडहरू, हामी लामो समय बाहिर बस्नुपर्‍यो, एमाले हुन पाइएन, मेरो जिन्दगीमा सबैभन्दा पीडाको दिन थियो त्यो । कति रातभर सुत्न सकिन । अब हामी एमाले विभाजनविरुद्ध एकजुट बनौं । विगतमा जे भयो अब यस्तो कहिल्यै नहोस्।’